काठमाडौं । जेठ ८ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘मितज्यू’ प्रदर्शनको संघारमा छ । पुरानो मितेरी साइनोको शिर्षक यो फिल्म देखिन्छ । किनभने नेपालमा मित लगाउने क्रम विस्तारै हराउँदै गएको आभास हुन्छ किनभने यो शब्द नै पछिल्लो समय कम सुनिन्छ ।
८ वर्षअघि नै यस फिल्मका निर्माता जनक घर्ती मगर, निर्देशक अनिल मगरले यो फिल्मको परिकल्पना गरेका थिए । उनीहरुले यस फिल्मका लागि कलाकारमा दयाहाङ राईलाई छनोट गर्ने निधोमा थिए ।
नभन्दै उनीहरुले नाटकमा अभिनय गरिरहेका र फिल्ममा पनि उतिकै व्यस्त रहेका दयाहाङलाई सुनाए । उनले यो कथा मन पर्यो । तर समयमा यो फिल्मको काम गर्न पाएनन् । अझ भनौँ यो फिल्मको कथामा उनीहरुबीच सहकार्य गर्ने मौका जुरेन ।
यसबीचमा ‘घरज्वाई’निर्माण गरे । यो फिल्मको दुई वर्षपछि पुन ८ वर्षअघिको कथा ‘मितज्यू’को स्क्रिप्ट खोलियो । यस फिल्ममा दयाहाङ राईले समय पनि दिए । अन्तत यस फिल्ममा सौगात मल्ल, टेरिया फौजा मगर, शिशिर वाङ्देलको टिम जुट्यो । यस फिल्मका अधिकांश गीतले चर्चाको शिखर चुमिरहेको छ । फिल्मका कलाकार तथा निर्माण पक्ष प्रमोसनमा हिँडिरहेका छन् । पछिल्लो समय यस फिल्ममा समावेश गीत ‘गैराघरे साइँली’ले निकै चर्चा कमाई रहेको छ ।
यसैबीचमा दुई अभिनेतामध्ये एक दयाहाङ राईसँग गरिएको छोटो कुराकानीः
तपाईंको विचारमा यो फिल्म ‘मितज्यू’ कस्तो कथा हो ?
सरसर्ती हेर्दा यो सम्बन्धको कथा हो । विशेषगरी पारिवारिक सम्बन्ध, मित्रता र व्यवसायिकताको कथा । एउटा गाउँदेखि शहरसम्म गाडीको रुट छ, जहाँ तीन जना चालकहरूले सेवा दिइरहेका छन् । म, सौगात मल्ल र शिशिर वाङ्देल दाइका पात्र छन् । मेरो पात्रको आफ्नै पारिवारिक पृष्ठभूमि र विगत छ । गाडी चलाउने पेशामा दौडधुप र पारिवारिक जिम्मेवारीबीच उसले के सोचिरहेको छ भन्ने वरिपरि कथा घुम्छ ।
यस फिल्मका पोस्टर र टिजर रिलिज भइसकेको छ, टिजर र ट्रेलरले कति कुरा खुलाउँछन ?
टिजर वा ट्रेलरमा सबै कुरा देखिँदैन । कति भन्ने भन्ने कुरा पनि महत्वपूर्ण हुन्छ । यो फिल्ममा हरेक पात्रको आफ्नै कथा छ, जुन दर्शकले पूरा फिल्म हेरेपछि मात्रै राम्रोसँग बुझ्न सक्नुहुन्छ ।
यस फिल्ममा दर्शकले उहीँ दयाहाङ राई देख्छन् कि फरक रूप ?
मेरो अभिनय शैली नै पात्रको मनोविज्ञानसँग खेल्ने हो । बाहिरी हाउभाउभन्दा पनि पात्रको भित्री भावनासँग नजिक हुन रुचाउँछु । ‘मितज्यू’मा मैले निभाएको पात्र मभन्दा नितान्त फरक छ । तर मैले देखेका र महसुस गरेका यथार्थसँग जोडिएको छ । अहिलेको सामाजिक–राजनीतिक सन्दर्भसँग पनि दर्शकले यसलाई कनेक्ट गर्न सक्नुहुन्छ । यो गहिरो पात्र हो, र यस्तो पात्र पाउनु आफैंमा विशेष कुरा हो ।
सौगात मल्लसँगको केमिस्ट्री कस्तो छ ? प्रतिस्पर्धा बढी कि सहकार्य ?
हाम्रो उद्देश्य नै फरक–फरक छ । अघिल्ला फिल्महरू जस्तै लुट वा कबड्डी मा जस्तो सम्बन्ध यहाँ छैन । ‘मितज्यू’मा हामी किन दौडिरहेका छौँ भन्ने कुरा फरक छ । दर्शकलाई सुरुमा एउटा शंका लाग्न सक्छ, तर वास्तविक कुरा बुझ्न पूरा फिल्म हेर्नुपर्छ ।
नवअभिनेत्री टेरिया मगरसँग काम गर्दा अनुभव कस्तो रह्यो ?
कलाकार भएपछि नयाँ वा पुरानो भन्ने हुँदैन । त्यो कास्टिङ र स्क्रिप्टको आवश्यकता हो । मेरो लागि हरेक फिल्म नयाँ अनुभव हो । फरक मनोविज्ञान भएका पात्रहरूसँग काम गर्दा हामी आफै पनि नयाँ रूपमा एडजस्ट हुन्छौँ । सहकार्य, बुझाइ र रुचि मिल्दै जाँदा काम सहज हुन्छ ।
‘मितज्यू’मा तपाईं कसरी जोडिनुभयो ?
दयाहाङ राईः निर्माता जनक घर्ती मगर र निर्देशक अनिल मगर करिब ८ वर्षअघि नै स्क्रिप्ट लिएर आउनुभएको थियो । त्यतिबेला नै कथा रोचक लागेको थियो । तर त्यतिबेला आफ्नो अनुभवले न्याय गर्न सकिन्छ कि भन्ने लागिरहेको थियो । बीचमा कोभिड आयो, केही प्रोजेक्टहरू रोकिए। त्यसपछि समय मिल्दा यो फिल्म गर्ने निर्णय भयो ।
तपाईंले फिल्मको नाम नै ‘मितज्यू’मा काम गर्नुभएको छ । तपाईं आफैमा ‘मित’ लगाउने अनुभव छ ?
व्यक्तिगत रूपमा मैले मित लगाएको छैन । तर समाजमा यसको परम्परा र महत्वबारे सुन्दै आएको छु । पहिले झगडा मिलाउन मित लगाउने चलन थियो भन्ने सुनेको छु । अहिले पनि यसलाई विभिन्न रूपमा बुझ्न सकिन्छ, जस्तो राजनीतिक सन्दर्भमा पनि ‘मित’ जस्तै सहकार्य वा गठबन्धन देखिन्छ ।









प्रतिक्रिया