१४ असार २०८३, आइतबार

धिरज र मिरुनाको फिल्म ‘कुस्ती’ असोज ९ देखि प्रदर्शनमा आउने

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अनिल योञ्जनको निर्माण तथा निर्देशनमा तयार भएको नेपाली फिल्म ‘कुस्ती’ आगामी असोज ९ गतेदेखि प्रदर्शन हुने भएको छ । काठमाडौं तथा आसपासका क्षेत्रमा छायाङ्कन गरिएको फिल्मलाई वितरक तथा प्रदर्शकको सल्लाह अनुसार असोजमा प्रदर्शन गर्ने तय गरिएको निर्देशक योञ्जनले जानकारी दिए ।

उनले भने, ‘हामीले हाम्रो वितरक तथा प्रदर्शकसँग सल्लाह गरेर प्रदर्शन तय गरेका हौँ । सोही अनुसार म लगायत सम्पूर्ण टिमले फिल्मको प्राविधिक काम गरिरहेका छौँ । ‘कुस्ती’ एक अर्कासँग छुट्टिएर बस्न नसक्ने र सँगै रहन पनि नसक्ने मनका भावनाहरूको मधुर यात्रा हो । भावनात्मकतासँगै हास्यरसले भरिएको यो फिल्म प्रेम कथानक कमेडी ड्रामा हो ।’

निर्देशक योञ्जनले प्रेम गरेता पनि स्वभाव भिन्नताले एकसाथ रहन सङ्घर्ष गरिरहेको जोडीको कथालाई फिल्ममा दर्शकले देख्न पाउने बताए ।

फिल्ममा अभिनेता धिरज मगर, मिरुना मगर, पुस्कर गुरुङ, लुनिभा तुलाधर, भोलाराज सापकोटा, दीकिला शेर्पा, रवीन्द्र झा, पुस्कर गुरुङ, राजाराम पौडेल, किरण केसी, लुनिभा तुलाधर, सूर्यमान लिम्बू, अरविन गुरुङ, रजनी गुरुङ, सुवर्ण थापा लगायतका कलाकारको अभिनय रहेको छ ।

यस वर्षको ६१ औं ‘मिस इन्डिया २०२६’मा ‘मिस मल्टिमिडिया’को उपाधि जित्दै टप १५ मा पर्न सफल भएकी दीकिला शेर्पाको यो डेब्यु नेपाली फिल्म हो । उनले सन् २०२१ मा ‘मिस टिन फेसन आइकन’ उपाधि जितेकी थिइन्, जसले उनको सौन्दर्य प्रतियोगिताप्रतिको लगाव र सम्भावनालाई प्रारम्भमै देखाएको थियो । दिकिला एमटीभीको चर्चित भारतीय रियालिटी शो ‘स्प्लिट्सभिल्ला’ सिजन ५ बाट चिनिएकी हुन् ।

उनले फिल्मको अन्तर्राष्ट्रिय वितरकबाट फिल्मको प्रदर्शन अधिकार खरिदका प्रस्तावहरू आइरहेको बताउँदै छिट्टै विदेश प्रदर्शन तय गर्ने जानकारी दिए । धिरज र मिरुनाको जोडीलाई पर्दामा हेर्ने नेपालसँगै प्रवासी नेपाली पनि उत्साहित छन् । निर्देशक योञ्जनका अनुसार केही देशमा फिल्मको प्रदर्शन अधिकारसम्बन्धी छलफल अन्तिम चरणमा छ ।

फिल्ममा उमङ्ग शाहीको छायाङ्कन, मित्रदेव गुरुङको सम्पादन, दीपक शर्मा, अनिल योञ्जन, कल्याण सिंहको सङ्गीत, रेनिश फागोको कलर करेक्सन, शैलेश श्रेष्ठ र रोहित शाक्यको पार्श्व सङ्गीत र शिशिर खातीको नृत्य निर्देशन रहेको छ ।

डिजिटल पार्टनरको रुपमा ओएसआर डिजिटल रहेको फिल्ममा ड्रेस डिजाइन आइआइएफटी (धिरज एण्ड मिरुना)ले गरेको हो । काठमाडौं रीच इन्टरटेनमेन्ट र एप्पल इन्टरटेनमेन्ट तथा मोफसल एफडी कम्पनीले प्रदर्शनका लागि वितरण गर्नेछ ।