६ असार २०८३, शनिबार

श्रमिक दिवसमा रवि– सत्तामा नहुँदा यस्तो लेख्थे, सत्तामा हुँदा सुकुम्बासीमाथि डोजर चल्दा पनि चुप !

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । आज १३७ औं अन्तर्राष्ट्रिय श्रमिक दिवस । ‘८ घण्टा काम, ८ घण्टा मनोरञ्जन र ८ घण्टा आराम’ भन्ने नारासहित सन् १८८६ देखि सुरु भएको मजदुर आन्दोलनको सम्झनामा विविध कार्यक्रम गरी श्रमिक दिवस मनाउने गरिन्छ ।

तर नेपालमा अझ राजधानी काठमाडौंमा यसपटक दिवसको रौनकता छैन । पूर्वतयारीबिना सरकारले केही दिन अघिदेखि यहाँका हजारौं सुकुम्बासी मजदुरको घर, बस्तीमाथि डोजर आतंक मच्चाउँदै खाली गराएर उनीहरुको भविष्य अनिश्चिततर्फ ढकाल्दा श्रमिक वर्ग त्रासमय छ ।

श्रमिक दिवसमा बिहानै विभिन्न दलका प्रमुख, शीर्ष नेताहरुले सामाजिक सञ्जालमार्फत मजदुरका हकहित, समस्या, गरिनुपर्ने कामका चर्चा गरिरहँदा सत्ताको नेतृत्व गरिरहेको प्रमुख दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा)का सभापति रवि लामिछानेको सामाजिक सञ्जाल भने मौन छ । अर्थात लामिछानेले श्रमिक दिवसबारे केही लेखेका छैनन् । तर केही वर्ष अघि उनले लेखेको पोस्ट भने अहिले फेसबुकमा भाइरल बनेको हो ।

‘दिनभरी कुरेर बसेको थिएँ एउटा आशामा कि मजदुर दिवसका दिन मजदुरका लागि केही राहत प्याकेज को घोषणा हुनेछ । मजदुरको पसिनामा पौडी खेलेर सिंहदरबार र बालुवाटार छिरेकाहरुले मजदुरलाई ‘ठूलो शुभकामना’ दिएछन् । देश विदेशमा श्रम गरेर परिवार र यो देशलाई वर्षोंदेखि पालीरहनु हुने सबैप्रति विशेष सम्मान व्यक्त गर्दछु ।’ लामिछानले लेखेका थिए ।

लामिछानेले उक्त पोस्टमा श्रमिक दिवसका दिन मजदुरका लागि केही राहत प्याकेजको घोषणा हुने आशा व्यक्त गरेका थिए । तर अहिले सत्ताको बागडोर उनकै हातमा छ तर उनी किन मौन बसिरहेका छन् भन्दै उनकै कार्यकर्ताहरुले फेसबुकमै लेखिरहेका छन् ।