काठमाडौं । पाँचौं राष्ट्रिय लेखा व्यवसायी सम्मेलन बिहीवार काठमाडौंमा सम्पन्न भएको छ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)ले आयोजना गरेको दुईदिने सम्मेलन बुधबार सुरु भएको थियो ।
आइक्यानले लेखा व्यवसाय क्षेत्रका महत्वपूर्ण विषयवस्तु तथा आर्थिक एवं अन्य समसामयिक विषयमा छलफल गरी नीतिनिर्माण प्रक्रियामा सहयोग पुर्याउने उद्देश्यले बर्सेनि यस्तो सम्मेलन आयोजना गर्दै आएको छ । यसपालिको सम्मेलनको थिम ‘स्ट्रेन्थिङ ट्रस्ट एण्ड इकनोमिक गोभरनेन्स : क्याटलाइज नेपालस् इक्नोमिक ट्रन्सफर्मेशन’ रहेको थियो । सम्मेलनमा यही थिममा केन्द्रित ६ वटा प्राविधिक सत्रहरू सञ्चालन गरिएको थियो ।
सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रमुख अतिथि महालेखापरीक्षक तोयम रायले जोखिममा आधारित लेखापरीक्षणको महत्वमाथि प्रकाश पार्दै निजी क्षेत्रको पारदर्शिता र सुशासन सुदृढ गर्न लेखापरीक्षणको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताए । उनले लेखा व्यवसायीहरूले रणनीतिक सल्लाहकार तथा जोखिम व्यवस्थापकको रूपमा भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता औंल्याए ।
वर्तमान डिजिटल अर्थतन्त्र र दिगोपनको युगमा तथ्यांकमा आधारित निर्णय प्रणालीलाई सुदृढ बनाउनुपर्ने आवश्यकता औंल्याउँदै उनले सम्मेलनमा युवा लेखा व्यवसायीको सक्रिय सहभागिता देखेर खुसी व्यक्त गरे । नेपाल सरकारको नीति तथा कार्यक्रम र बजेट निर्माण प्रक्रियामा महत्वपूर्ण सुझाव दिन सम्मेलनले योगदान गर्ने विश्वास उनको थियो ।
सम्मेलनका वक्ता तथा सहभागीहरूले नीति कार्यान्वयनको प्रभावकारिता, पारदर्शिता अभिवृद्धि, प्रविधिमैत्री वातावरण निर्माण तथा व्यावसायिक क्षमता विकासमार्फत दिगो आर्थिक वृद्धि हासिल गर्न सकिनेमा जोड दिएका थिए । यो सम्मेलनले लेखा व्यवसायीहरूबीच ज्ञान आदानप्रदान, नीति संवाद तथा पेशागत सुदृढीकरणमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास लिइएको छ ।
सम्मेलनमा चार्टर्ड एकाउन्टेन्ट्स, लेखा व्यवसायीहरू, नीति निर्माताहरू, नियामक निकायका प्रतिनिधिहरू तथा सरोकारवाला निकायहरूको उल्लेखनीय सहभागिता रहेको थियो । सम्मेलनको प्रत्यक्ष प्रसारण संस्थाको आधिकारिक फेसबुक तथा युट्युब पेजमार्फत गरिएको थियो ।
सम्मेलनमा नाडाका पूर्वअध्यक्ष तथा सिप्रदी ट्रेडिङ प्रालिका प्रमुख कार्यकारी अधिकृत शम्भुप्रसाद ढकालको विशेष प्रेरणादायी सत्र पनि राखिएको थियो ।
सम्मेलनको समापन सत्रमा उत्कृष्ट काम गर्ने कर्मचारीलाई पुरस्कृत गरिएको थियो । सोही सत्रमा आइक्यानका कार्यकारी निर्देशक सिए बिमल डंगोलले समापन मन्तव्य राखेका थिए ।








प्रतिक्रिया