१८ असार २०८३, बिहिबार

‘कमेडी नाइट विथ च्याम्पियन्स’को च्याप्टर–२ सुरु

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । लोकप्रिय हास्य टेलिभिजन रियालिटी शो ‘कमेडी नाइट विथ च्याम्पियन्स’ले पहिलो सिजनको सफलतापछि दोस्रो सिजन सुरु गरेको छ । निर्माण टिमले हाल प्रसारण भइरहेको ५४ औं भागलाई च्याप्टर–२ को रूपमा निरन्तरता दिँदै दोस्रो सिजन औपचारिक रूपमा सुरु भएको जानकारी दिएको हो ।

दर्शकको अत्याधिक माग र निरन्तर मनोरञ्जनको आवश्यकतालाई ध्यानमा राख्दै शोलाई कुनै ब्रेकबिना निरन्तरता दिइएको निर्देशक तथा कार्यक्रम सञ्चालक विशाल भण्डारीले जानकारी दिए । उनका अनुसार पहिलो सिजनकै निरन्तरतामा दोस्रो सिजन सुरु गरिएको हो । ‘हामीले पहिलो सिजनकै निरन्तरतामा दोस्रो सिजन ल्याएका छौँ । ५४ औं एपिसोड लाई नै हामीले च्याप्टर–२ भनेर घोषणा गरेका हौँ’ निर्देशक भण्डारीले भने, ‘दर्शककै मागअनुसार निरन्तर मनोरञ्जन दिने उद्देश्यले हामीले दोस्रो सिजन प्रसारणलाई निरन्तरता दिएका हौँ ।’

च्याप्टर–२ को पहिलो एपिसोडमा वैशाख २५ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘मालती मंगले’को निर्माण टिम तथा कलाकारहरु विशेष अतिथि बनेका थिए । कार्यक्रममा वर्षा राउत, विजय बराल, मेक्सम गौडेल, सिनेमा निर्माता तथा गायक रामकृष्ण ढकाल, निर्देशक प्रकु पाण्डेय, कार्यकारी निर्माता सागर ज्ञवाली र गायिका ऋतिका श्रेष्ठको उपस्थित रहेको थियो ।

शोमा पुरानै हास्य कलाकार पवन भट्टराई, प्रभात लामा, कर्मासिंह लामा, भरतमणि पौडेल, कैलाश कार्की र सुमन कोइरालाले प्रस्तुति दिएका थिए । गत मंगलबार प्रसारण भएको शोलाई दर्शकबाट राम्रो प्रतिक्रिया आइरहेको छ । शोमा ‘मालती मंगले’को टिम अतिथिको रूपमा आउँदा पवन भट्टराईले अभिनेता विजय बरालकै अगाडि सिनेमा ‘कबड्डी’का बीकेको पात्र बनेर प्रस्तुति दिएका थिए, जसमा विजय बराल स्वयं खुल्दै हाँसेका थिए ।

प्रभात लामा र कर्मा लामाले गरेको सुदन–सुशीला डुओ पनि सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

त्यसैगरी, भरतमणि, सुमन कोइरालाको प्रस्तुति शोलाई नै एक प्रकारले हाइलाइट गरेको छ । उनीहरूले अतिथि भएर सोफामा बसेका आफ्नै साथी मेक्सम गौडेललाई मज्जाले रोस्ट हानेका थिए । अन्त्यमा जड्याहा पात्रको भूमिकामा देखिएका कैलाश कार्कीको प्रस्तुतिसँगै सकिएको शो दर्शकमाझ हाँसोको फोहोरा छुटेको देख्न सकिन्छ । यसका साथै अन्य शोमा सुमन कार्की, सजन श्रेष्ठ, मेक्सम गौडेलले पनि प्रस्तुति दिनेछन् ।

यसपटक कलाकार टिमबाट सन्तोष थापा बाहिरिएका छन् । थापाको स्थानमा अब कर्मा लामा नियमित रूपमा प्रस्तुति दिने भएका छन् । यसअघि उनी सानो साइड रोलमा मात्र देखिन्थे । सुदन–सुशीला र चक्रे–मिलन जस्ता पात्रमार्फत चर्चा कमाएपछि विशालले कर्मा लामालाई नियमित परफर्मरका रूपमा सम्झौता गरेका हुन् ।

शोको स्क्रिप्ट लेखनमा पनि कर्मासँगै निश्चल अर्याल र प्रतीक अधिकारी छन् । कार्यक्रममा सेट डिजाइनमा समेत परिवर्तन गरिएको छ । पुरानो सेटलाई नयाँ रंगरोगन र फूलहरूले सजाएर अझ आकर्षक बनाइएको छ । दीपाश्री निरौला अध्यक्ष रहेको शो थ्री प्रोडक्सनको प्रस्तुतिमा निर्माण भएको हो ।

यो कार्यक्रम साताको प्रत्येक मंगलबार राति ९ बजे हिमालय टिभीमा प्रसारण हुनुका साथै र ओएसआर रियालिटी युट्युब च्यानलमार्फत सार्वजनिक भइरहेको छ ।