बाजुरा । बाजुरामा चट्याङ लागेर ३९ वटा बाख्रा मरेका छन् । बुधबार दिउँसो बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका–१ स्थित राउते ओडार भन्ने स्थानमा चट्याङ पर्दा ठूलो संख्यामा बाख्रा मरेका हुन् ।
अपराह्न करिब ४ बजेतिर परेको चट्याङका कारण दुई जना स्थानीय किसानका ३९ वटा बाख्रा घटनास्थलमै मरेका जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक एवं प्रवक्ता नरेशबहादुर शाहीले बताए ।
प्रहरीले घटनास्थल पुगेर बुझ्दा स्थानीय सज्जन कडा राका ११ वटा बाख्रा मरेको र १५ वटा बाख्रा बेपत्ता रहेको र जसवीर रावलका २८ वटा बाख्रा मरेको र २४ वटा बाख्रा बेपत्ता रहेको छ । मानवीय क्षेती भने नभएको उनले जानकारी दिए । सोही पालिकाको १ रानी सैन वनमा बाख्रा चराउन लगिएको थियो । पानी परिरहेको समयमा चट्याङ पर्दा सो संख्यामा बाख्राहरू मरेको जानकारी प्राप्त भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
ठूलो संख्यामा बाख्रा मरेपछि किसानहरू मारमा परेका छन् । बाजुरामा मंगलबार मात्रै चट्याङ र पहिरोमा परी १६ भेडा बाख्रा मरेका थिए ।
त्यस्तै, ३८ भेडा बाख्रा हराएका थिए । बाजुरामा वर्षेनी विपत्जन्य घटनाबाट भेडा बाख्रा मरेर करोडौंको क्षति हुँदै आएको छ ।








प्रतिक्रिया