काठमाडौं । किष्ट टिचिङ हस्पिटलले ग्यास्ट्रो विभागको नेतृत्वमा अंग प्रत्यारोपण सेवामा ऐतिहासिक सफलता हासिल गर्दै १५ औं कलेजो ट्रान्सप्लान्ट सफलतापूर्वक सम्पन्न गरेको छ । यस उपलब्धिसँगै अस्पतालले नेपालमै अंग प्रत्यारोपण सेवामा उच्चतम सफलता दर कायम गर्न सफल भएको हो ।
किष्ट हस्पिटलले सन् २००६ देखि निरन्तर रुपमा बहुविशेषज्ञ सेवा प्रदान गर्दै आएको छ । अस्पतालले अंग प्रत्यारोपण क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्दै कलेजो मात्र नभई मिर्गौला ट्रान्सप्लान्ट सेवा समेत सफलतापूर्वक सञ्चालन गर्दै आएको छ ।
अस्पतालका अनुसार हालसम्म १९८ वटा मिर्गौला प्रत्यारोपण सफलतापूर्वक भइसकेको छ । ‘यस पटकको प्रत्यारोपण विशेष भावनात्मक रूपमा महत्वपूर्ण रह्यो, जहाँ छोरीले आफ्नो बुबालाई मिर्गौला दान गर्दै जीवनदान दिने अनुपम उदाहरण प्रस्तुत गरिन्। यो घटना केवल चिकित्सा सफलता मात्र नभई मानवता, माया र पारिवारिक बन्धनको गहिरो प्रतीक बनेको छ ।’ अस्पतालले भनेको छ ।
किष्ट ग्यास्ट्रो सेन्टर अत्याधुनिक उपकरण, अनुभवी सर्जनहरू तथा समर्पित मेडिकल टिमको साथमा अंग प्रत्यारोपण क्षेत्रमा निरन्तर उत्कृष्टता हासिल गर्दै आएको अस्पतालले जनाएको छ । अस्पतालले जटिल शल्यक्रियाहरूलाई सफलतापूर्वक सम्पन्न गर्दै बिरामीहरूको जीवनमा नयाँ आशा जगाउँदै आएको जनाएको छ ।
अस्पताल प्रशासनका अनुसार निरन्तर सुधार, प्रविधिको प्रयोग, र अनुभवी विशेषज्ञहरूको टिमवर्कका कारण किष्ट टिचिङ हस्पिटलले नेपालमै अंग प्रत्यारोपण सेवामा एक अग्रणी संस्थाको पहिचान स्थापित गर्न सफल भएको छ । ‘यो उपलब्धि सम्पूर्ण मेडिकल टिम, बिरामी तथा दाताहरूको विश्वास र समर्पणको परिणाम हो, जसले भविष्यमा अझ धेरै जीवन बचाउने प्रेरणा दिएको छ ।’ अस्पतालले एक विज्ञप्ति जारी गर्दै भनेको छ ।








प्रतिक्रिया