काठमाडौं । सरकारले काठमाडौंमा बाँकी रहेका सुकुम्बासी बस्ती पनि हटाउने भएको छ । आज जिल्ला प्रशासन कार्यालय काठमाडौंले सूचना जारी गर्दै बस्ती खाली गर्न निर्देशन दिएको हो ।
साथै सरकारी, पर्ती र निजी जग्गा अतिक्रमण गरी वर्षौंदेखि बनाइएका यी बस्तीहरू वैशाख १८ गतेबाट अभियान नै चलाएर खाली गराइने प्रशासनले जनाएको छ ।
‘काठमाडौं जिल्लाभित्रका विभिन्न पालिकाहरूका नदीकिनाराका बस्ती एवम् सरकारी, पर्ति, सार्वजनिक वा व्यक्तिको निजी स्वामित्वामा जग्गासमेत अतिक्रमण गरी अनाधिकृत तबरबाट वर्षौंदेखि बसोबास भै आएका बस्तीहरू मानवीय रूपमा उद्धार गर्न एवम् विपदको जोखिमसमेत मध्यनजर गरी खाली गर्ने कार्य काठमाडौं जिल्लाभरि मिति २०८३ वैशाख १८ गते बिहान ७:०० बजेदेखि एकैपटक विभिन्न स्थानहरूबाट सुरु हुनेछ,’ सूचनामा भनिएको छ ।
मानवीय रूपमा उद्धार गर्न एवम् विपदको जोखिमलाई समेत मध्यनजर गरी बस्ती खाली गराउन लागिएको सूचनामा उल्लेख गरिएको छ । बस्ती खाली गर्दा बिरामी, अशक्त, वृद्धवृद्धा, गर्भवती, सुत्केरी र साना बालबालिकाहरूलाई सर्वप्रथम सुरक्षित स्थानमा सार्न आग्रह गरिएको छ । यसका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नगर प्रहरीको सहयोगका साथै एम्बुलेन्स सेवासमेत तयारी अवस्थामा राखिएको जनाइएको छ । जिप्रकाले व्यक्तिगत मालसामान, लत्ताकपडा र चौपाया बाहिर निकाल्न र ढुवानीका लागि सुरक्षाकर्मीको मद्दत लिन सकिने जनाएको छ ।










प्रतिक्रिया