काठमाडौं । नीता ढुङ्गाना फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्म ‘पार्वर्ती’को छायांकन सकिएको छ । निर्माण पक्षले २२ दिनमा फिल्मको सुटिङ सकिएको जानकारी दिएको हो ।
गत चैत २४ गते मंगलबार कास्कीको माछापुच्छ्रे गाउँपालिकाको मिर्सा गाउँ वडा नम्बर १ मा फिल्मको शुभमुर्हूत गर्दै छायांकन थालिएको थियो । यस फिल्मलाई अभिनेत्री तथा निर्मात्री नीता ढुङ्गानाले निर्देशन गरेकी हुन् । उनको निर्देशकीय र फिल्मका कलाकारहरुको सक्रियतामा एक महिनाको समयसीमा राखी छायांकन सुरु गरिएकोमा ८ दिन अगावै सुटिङ सकिएको हो ।
फिल्मको मुख्य भूमिकामा निर्देशक नीता आफैले अभिनय गरेकी छन् । नीताका अलवा फिल्ममा दीपाश्री निरौला, अशोक दर्जी, सिरु विष्ट, राधिका कँडेल, राज पंगेनी शर्मा, राजेन्द्र नेपाली, आशा पौडेल लगायतले अभिनय गरेका छन् । यस फिल्ममा निर्देशक ढुङ्गानाकै कथा तथा पटकथा रहेको छ भने यस फिल्मको स्क्रिप्ट शिवम् अधिकारीले लेखेका हुन् ।
सुदिप बरालको डिओपी रहेको यस फिल्ममा सरोज अधिकारी क्रियटिभ निर्देशक रहेका छन् । सरोज कार्टुन क्रुका डान्सर तथा निर्देशक हुन् । म्युजिक भिडियोमा निकै चर्चामा रहेका उनी पहिलोपटक यस फिल्ममा क्रियटिभ निर्देशकका रुपमा काम गर्न लागेका हुन् ।
यस फिल्ममा प्रोडक्सन म्यानेजर र कार्यकारी निर्माता शंकर पाण्डे छन् । साथै, निर्मातामा हरिहर अधिकारी छन् । फिल्मको सम्पादन साहिल खानको रहने छ भने यस फिल्मको पोस्टर डिजाइन् रोयल भीमसेनको छ ।
फिल्म आगामी भदौ १२ गतेबाट प्रदर्शनमा आउने निर्माण पक्षले जानकारी दिइसकेको छ । त्यस कारण पनि यो फिल्मको काम फटाफट भएको हो ।













प्रतिक्रिया