२९ आश्विन २०८३, बिहिबार

टेरेन्स लुइस ग्रान्ड जज रहेको ‘वर्ल्ड अफ डान्स नेपाल’को दोस्रो सिजनको सहभागिता सिटिपेमार्फत हुने

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । विश्वव्यापी रूपमा ख्यातिप्राप्त अमेरिकी नृत्य प्रतियोगिता फ्रेन्चाइज ‘वर्ल्ड अफ डान्स’को दोस्रो संस्करण ‘वर्ल्ड अफ डान्स नेपाल २०२६’को औपचारिक घोषणा गरिएको छ । गत आइतबार काठमाडौंमा आयोजित एक विशेष पत्रकार सम्मेलनमार्फत यस प्रतियोगिताको सुरुवात गर्दै जुरी, पुरस्कार राशि र अडिसनका मितिहरू सार्वजनिक गरिएको हो ।

यस पटकको संस्करणमा डिजिटल वालेट सिटीपेमार्फत सहभागीले आफ्नो सहभागिता कन्फर्म गर्नुपर्नेछ । सिटीपेले यस शोको अन्तर्राष्ट्रिय फर्म्याटसँग मिल्ने गरी डिजिटल व्यवस्थापन र प्रणालीको विकास गरेको छ र सोही प्रणालीको प्रयोग गरी इच्छुक सहभागीले आफ्नो सहभागिता निर्क्योल गर्ने तथा सहभागिता शुल्क भुक्तानी गर्ने प्रणाली विकास गरिसकेको छ ।

प्रतियोगितामा सहभागी हुन चाहने डान्सरहरूले सिटीपे एप डाउनलोड गरी केवाईसी भेरिफिकेसन गरेर इभेन्टस सेक्सनमा गई आफ्नो पायक पर्ने स्थानका लागि आवेदन दर्ता गर्न सक्नेछन् । साथै, दर्शकहरूले समेत ग्राण्ड फिनालेको टिकट सिटीपेमार्फत नै बुक गर्न पाउने व्यवस्था मिलाइएको छ ।

यस सिजनको मुख्य आकर्षणको रूपमा बलिउडका प्रख्यात कोरियोग्राफर टेरेन्स लुइसलाई ‘सेलिब्रेटी ग्रान्ड जज’को रूपमा घोषणा गरिएको छ । ‘डान्स इन्डिया डान्स’ र ‘इन्डियाज बेस्ट डान्सर’ जस्ता ठूला शोका अनुभवी निर्णायक लुइसको उपस्थिति नेपाली प्रतिभाहरूका लागि विशेष हुने आयोजकको विश्वास छ । उनीसँगै निर्णायक मण्डलमा वाइल्ड रिपर्ज क्रुका किरण थापा र जेडी तमु रहनेछन् ।

प्रतियोगितालाई चार वटा डिभिजनमा विभाजन गरिएको छ । जसमा अपर डिभिजन, जुनियर डिभिजन, अपर टिम डिभिजन र जुनियर टिम डिभिजन रहेका छन् ।

प्रत्येक डिभिजनका विजेताले १ लाख रुपैयाँ नगद, २४ क्यारेट सुनको जलप लगाइएको ट्रफी र विभिन्न उपहारहरू प्राप्त गर्नेछन् । साथै, विजेताले वर्ल्ड अफ डान्सको दुबई, थाइल्यान्ड तथा अमेरिकामा हुने प्रतिस्पर्धामा पनि सामेल हुने मौका प्राप्त गर्न सक्नेछन् ।

नेपालभरका प्रतिभाहरूलाई समेट्न विभिन्न पाँच सहरमा अडिसन सञ्चालन हुनेछ । जसअनुसार १९ वैशाखमा नेपालगञ्ज, २२ वैशाखमा बुटवल, २६ वैशाखमा पोखरा, ३० वैशाखमा काठमाडौं र २ जेठमा इटहरीमा आयोजना हुनेछ ।

अडिसनबाट छानिएका उत्कृष्ट डान्सरहरूको सेमिफाइनल २१ जेठमा र भव्य ग्राण्ड फिनाले २३ जेठमा सम्पन्न हुनेछ । यो सिजनको फाइनल इभेन्ट ‘प्याराडाइम टिभी’मार्फत युट्युबमा समेत प्रसारण गरिनेछ ।

सन् २००८ मा क्यालिफोर्नियाबाट सुरु भएको ‘वर्ल्ड अफ डान्स’ अहिले ५० भन्दा बढी देशमा फैलिसकेको छ । नेपाली डान्सरहरूलाई विश्वस्तरीय प्लेटफर्म प्रदान गर्ने उद्देश्यले सुरु गरिएको यस कार्यक्रमको घोषणा समारोहमा अमेरिकी दूतावासका जनसम्पर्क प्रमुख माइक हार्कर, अभिनेता दयाहाङ राई, बुद्धि तामाङ, प्रशान्त ताम्राकार, नृत्याङ्गना कविता नेपाली र भ्लगर सिसन बानियाँ लगायतको उपस्थिति थियो ।