१ असार २०८३, सोमबार

नेपाली वेबसिरिजमा एक्सनको नयाँ मानक ‘साहु बा’, ३८० कलाकार र बदलाको रोमाञ्चक कथा

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली डिजिटल प्लेटफर्ममा पछिल्लो समय वेबसिरिजको लहर चलिरहेका बेला एउटा नयाँ सिरिजले दर्शकको विशेष ध्यान तान्न सफल भएको छ ।

म्युजिक नेपाल र फ्रेम इन मोसनको संयुक्त प्रस्तुतिमा निर्माण भएको वेबसिरिज ‘साहु बा’ सार्वजनिक भएसँगै यसको कथावस्तु र मेकिङलाई लिएर चर्चा सुरु भएको हो । साप्ताहिक रूपमा म्युजिक नेपाल इन्टरटेनमेन्टको आधिकारिक युट्युब च्यानलबाट प्रसारण भइरहेको यस सिरिजका हालसम्म दुई एपिसोड सार्वजनिक भइसकेका छन् । सार्वजनिक एपिसोडहरूले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइरहेका छन् । विशेष गरी, ‘क्राइम, एक्सन र रिभेन्ज’ ९बदला०मा केन्द्रित कथावस्तुमा रहेको ‘साहु बा’ सिरिजले आफ्नो वृहत् क्यानभास र एक्सनका कारण दर्शकको विशेष ध्यान तान्न सफल भएको छ ।

‘साहु बा’को सबैभन्दा चर्चामा रहेको पक्ष यसमा आबद्ध कलाकारहरूको संख्या हो । नेपाली वेबसिरिजको इतिहासमा सम्भवतः पहिलोपटक ३८० जना भन्दा बढी कलाकारले यसमा अभिनय गरेका छन् । यस सिरिजमा प्रियंका कार्की, कविता नेपाली, विजु पार्की, सरिता गिरी, नम्रता श्रेष्ठ, अमित शाह, अमित गिरी, प्रियंका चौधरी, हिना नगरकोटी, बिमल पुरी, रमेश अधिकारी, प्रदीप बाँस्तोला, कृष्णभक्त महाजन लगायतका नेपाली चलचित्र र रंगमञ्चका स्थापित कलाकारहरूको अभिनय रहेको छ ।

सार्वजनिक भएका सुरुवाती दुई एपिसोडले सिरिजको ‘क्राइम, एक्सन र रिभेन्ज’ (बदला)को थिमलाई प्रस्ट पारेका छन् । कथाको सुरुवात सीमापारिबाट हुने अवैध कारोबार र धनको चलखेलबाट हुन्छ । पहिलो एपिसोडमा एउटा ठूलो सडक दुर्घटना र त्यसले निम्त्याएको सस्पेन्सले दर्शकलाई बाँधेर राख्छ ।

सिरिजको मुख्य पात्रको रूपमा विजु पार्की देखिएका छन् । भिडियोका दृश्यहरूमा उनलाई एक सङ्घर्षशील र बदलाको भावमा जलिरहेको युवकको रूपमा प्रस्तुत गरिएको छ । रगतले लतपतिएको हातमा कागजको जहाज देखिने दृश्यले उनको बाल्यकालको कुनै गहिरो घाउ वा स्मृतिलाई सङ्केत गर्दछ, जसले सिरिजमा भावनात्मक गहिराइ पनि रहेको बुझाउँछ ।

नेपाली सिरिजहरू प्रायः लामो संवादमा अल्झिने गरेको गुनासो आउने गर्छ । तर, ‘साहु बा’ले यो परम्परालाई तोड्दै ुसिनेम्याटिक एक्सनु लाई प्राथमिकता दिएको छ । आगो, आधुनिक हतियार, सडकका चेस दृश्यहरू र अस्पतालभित्रका रहस्यमय घटनाक्रमहरूले सिरिजमा भरपूर थ्रिल प्रदान गर्छन् ।

निर्देशक एवं लेखक सुजोय योङ निर्देशित ‘साहु बा’को कुल २४ एपिसोड तयार गर्न निर्माण टोलीले करिब तीन वर्षको लामो समय खर्चिएको छ ।

आयुषमान जोशी, संगम राई र अनिश तामाङ छायाकार रहेको यस सिरिजको रामप्रसाद चौधरी सम्पादक हुन् । सागर आले, मिस्टर डी र उजन शाक्यको गीत रहेको सिरिजमा पेमा लामा र राजु तामाङको द्वन्द्व निर्देशन रहेको छ ।

‘साहु बा’ वेबसिरिज हरेक साता साँझ ६ बजेपछि म्युजिक नेपाल इन्टरटेनमेन्टको युट्युब च्यानलमा सार्वजनिक हुने गरेको छ ।

यस्तै, सबै एपिसोडहरू एकै पटक हेर्न चाहने दर्शकहरूका लागि मोमो एपमा सम्पूर्ण भागहरू उपलब्ध गराइएको छ ।