१९ असार २०८३, शुक्रबार

मनमोहन अधिकारी युवालाई विश्वासमा लिएर काम गर्ने सक्ने नेता : प्रदीप ज्ञवाली

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा (एमाले)का नेता प्रदीप ज्ञवालीले पार्टीका पूर्वअध्यक्ष मनमोहन अधिकारी युवालाई विश्वासमा लिएर काम गर्नसक्ने नेता भएको बताएका छन् ।

पार्टीका पूर्वअध्यक्ष एवं प्रथम कम्युनिष्ट प्रधानमन्त्री अधिकारीको २७ औं स्मृति दिवसलाई सम्बोधन गर्दै ज्ञवालीले यस्तो बताएका हुन् । उनले २०४७ सालमा तत्कालीन नेकपा माले र माक्सर्वादीको एकता गर्दा ३८ वर्षीय मदन भण्डारीलाई महासचिव बनाएर नेतृत्वमा युवालाई स्थापित गर्नुपर्छ भन्ने सन्देश दिएको बताए ।

‘आफू ६९ वर्षको भए पनि ३८ वर्षीय मदन भण्डारीलाई महासचिव बनाएर मनमोहनले युवालाई विश्वासमा लिएर एमालेलाई उठाउनुभयो ’ ज्ञवालीले भने ‘पुस्ता पुस्ताबीचको अतिवादी सोचलाई एमालेले अनुभव र जोसको संयोजनको अभ्यास गरेको थियो ।’

ज्ञवालीले अहिलेको केही राजनीतिमा पुस्ताको अतिवादी सोच हाबी भएको बताउँदै उनले परिपक्वको मार्गदर्शन र युवाको ऊर्जाको संयोजनबाट मात्र देश बन्ने स्पष्ट पारे ।

ज्ञवालीले नेपालको कम्युनिष्ट आन्दोलनलाई इतिहासमा नै ठूलो धक्का लागेको स्पष्ट पारेका छन् । उनले फागुन २१ को निर्वाचनबाट कम्युनिष्ट मात्र नभई समग्र लोकतान्त्रिक शक्तिले नै धक्का खाएको उनको भनाइ छ ।

निर्वाचनपछि बनेको सरकारका गतिविधिले देश विस्तारै निर्वाचित सर्वसत्तावादतिर जाने हो कि भन्ने चिन्ता थपिएको ज्ञवालीको भनाइ छ ।

‘निर्वाचित सर्वसत्तावादतिर देश जान्छ कि भन्ने चिन्ता छ’ उनले भने, ‘सरकारले ट्रेड युनियन खारेज गर्ने पञ्चायती निरंकुशतासँग लडेको विद्यार्थी संगठन खारेज, स्वतन्त्र मिडियाको स्रोत नै सुकाइदिने कुराले शंका गर्ने प्रशस्त ठाउँ दिएको छ ।’