काठमाडौं । नबिल बैंक लिमिटेडले ग्राहकको गोपनीयता भंग गरी कारोबार विवरण चुहावट गरेको भन्ने आरोपलाई आधारहीन र प्रमाणविहीन भन्दै खण्डन गरेको छ । केही दिनयता सामाजिक सञ्जाल र केही सञ्चार माध्यममा फैलिएका भ्रामक सूचनाले बैंकिङ सेवाप्रति जनविश्वास कमजोर पार्ने प्रयास भएको बैंकको भनाइ छ ।
‘यस्ता भ्रामक सूचनाले जनमानसमा बैंकिङ सेवाप्रतिको विश्वासलाई प्रभावित पार्ने प्रयास गरेको देखिएकाले बैंक यस किसिमको भ्रमपूर्ण तथा प्रमाणविहीन सम्प्रेषणको स्पष्ट रूपमा खण्डन गर्दछ । मिति २०८३ वैशाख ९ गते कान्तिपुर दैनिकमा प्रकाशित ‘गृहमन्त्री गुरुङको कारोबारका तथ्य बाहिरिँदा बढ्दै गएका प्रश्नहरु’ शीर्षकको समाचारमा स्पष्ट रूपमा कान्तिपुर दैनिकले ‘अनुसन्धानरत निकायबाट प्राप्त गरेका बैंकिङ कारोबारको विवरण…..’ भनी उल्लेख गरेको छ । उक्त समाचारमा विभिन्न बैंक तथा वित्तीय संस्थाहरूमा विभिन्न मितिमा भएका कारोबारहरू प्रकाशित भएको तथ्यलाई नजरअन्दाज गर्दै केही व्यक्तिहरूद्वारा सामाजिक सञ्जालमार्फत बैंकविरुद्ध नियोजित रूपमा दुष्प्रचार गरिएकोप्रति बैंकको गम्भीर ध्यानाकर्षण भएको छ ।’ बैंकले एक प्रेस विज्ञप्ति जारी गर्दै भनेको छ, ‘बैंक सम्पूर्ण सरोकारवालाहरूलाई स्पष्ट रूपमा जानकारी गराउन चाहन्छ कि कुनै पनि ग्राहकको सूचना वा कारोबार विवरण ग्राहक स्वयं, निजको आधिकारिक प्रतिनिधि, वा नियामकीय तथा अनुसन्धानकारी निकायहरूले कानूनी प्रक्रिया अनुसार मागेको अवस्था बाहेक बैंकले कुनै पनि सञ्चार माध्यम, व्यक्ति वा अनधिकृत निकायलाई उपलब्ध गराउन मिल्दैन, गराउँदैन र गराएको पनि छैन ।’
बैंकले कुनै पनि ग्राहक विवरण निकालिएको अवस्थामा त्यसको पूर्ण रेकर्ड कोर बैंकिङ सिस्टममा सुरक्षित रहने बताउँदै सम्पूर्ण आरोपहरू गलत र भ्रामक रहेको जनाएको छ । ‘यस सम्बन्धमा बैंकमाथि लगाइएका सम्पूर्ण आरोप तथा अनुमानहरू गलत, भ्रामक तथा आधारहीन रहेको कुरा स्पष्ट पार्दछौँ । इजाजतपत्र प्राप्त ‘क’ वर्गको वाणिज्य बैंकको हैसियतले नबिल बैंक लिमिटेडले प्रचलित कानून, नियमन, प्रावधान तथा निर्देशन एवं आन्तरिक सुशासन तथा सूचना सम्बन्धी नीतिहरूको पूर्ण रूपमा पालना गर्दै ग्राहक सूचनाको पूर्ण गोपनीयता कायम गर्न कटिबद्ध रहेको जानकारी गराउँदछ ।’ बैंकले भनेको छ ।
नबिल बैंकले प्रचलित कानून, नियमन र आन्तरिक सुशासन नीति पूर्ण रूपमा पालना गर्दै ग्राहक सूचनाको गोपनीयता कायम राख्न प्रतिबद्ध रहेको स्पष्ट पारेको छ । बैंकले चार दशकभन्दा बढीको विश्वसनीय इतिहास भएको संस्थामाथि गरिएको दुष्प्रचार स्वीकार्य नहुने बताउँदै यस्ता गतिविधि रोक्न आग्रह गरेको छ । साथै, बैंकले नियोजित रूपमा गलत सूचना फैलाउनेहरूमाथि विद्युतीय कारोबार ऐन २०६३ लगायत प्रचलित कानूनअनुसार कानुनी कारबाही अघि बढाइने चेतावनी समेत दिएको छ ।
‘सूचनाको स्पष्ट स्रोतसहित प्रकाशित समाचारलाई बंग्याउँदै बैंक सम्बन्धमा दुष्प्रचार गर्ने व्यक्ति तथा निकायलाई तथ्यहीन दुष्प्रचार नगर्न तथा जनमानसलाई भ्रमित नपार्न आग्रह गर्दछौँ । साथै, नियोजित दुष्प्रचार गर्ने व्यक्तिमाथि विद्युतीय कारोबार ऐन, २०६३ तथा अन्य प्रचलित कानूनअनुसार कानूनी कारबाहीको प्रक्रियामा जान बैंक बाध्य हुनेछ । बैंकका सम्पूर्ण ग्राहकवर्ग तथा सरोकारवालाहरूमा यस्ता दुष्प्रचारमा विश्वास नगर्न हुन अनुरोध गर्दछौँ । साथै, बैंकले ग्राहक गोपनीयतामा सधै सचेत रही, ग्राहक सुरक्षासम्बन्धी विभिन्न प्रविधिहरूको प्रयोगमार्फत उच्चतम सुरक्षित सेवा प्रदान गर्दै आएको र भविष्यमा पनि निरन्तर उच्च गुणस्तरीय, विश्वसनीय सेवा दिन सधै कटिबद्ध रहेको पुनः विश्वास दिलाउन चाहन्छौँ ।’ बैंकले भनेको छ ।








प्रतिक्रिया