भक्तपुर । नेकपा (एमाले)का सचिव महेश बस्नेतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थापना दिवसलाई सम्झना मात्र होइन चुनौतीसँग जुध्ने प्रतिबद्धता व्यक्त गर्ने दिनका रुपमा स्मरण गर्नुपर्ने बताएका छन् ।
पार्टी स्थापना दिवसको शुभकामना दिँदै सचिव बस्नेतले सामाजिक सञ्जालमा अध्यक्ष केपी शर्मा ओलीको तस्वीर शेयर गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीको सरकार बनेपछि समाजमा अझ धेरै असमानता, बेरोजगारी, महँगी र निराशा बढेको उल्लेख गरे ।
बस्नेतले लेखेका छन्, ‘श्रमिक र विद्यार्थीका संगठनहरु खारेज गर्ने प्रयासले सरकार अधिनायकवादी बाटोमा उन्मुख भएको संकेत गरेको छ ।’
बस्नेतले कम्युनिष्ट आन्दोलनलाई कमजोर बनाउने उद्धेश्यसहित पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई गिरफ्तार गरिएको घटनाले लोकतान्त्रिक मूल्य र मान्यतामाथि नै प्रश्न उठाएको बताए । सरकारको यस प्रकारको रबैयाले देशलाई फासीवादतर्फ लैजाने भएकोले यसको प्रतिकार गर्न उनले आह्वान गरेका छन् ।
बस्नेतले लेखेका छन्, ‘आज आवश्यकता छ । नारा होइन, व्यवहारमा रुपान्तरणको । सत्ता होइन वा केन्द्रित राजनीतिको । विभाजन होइन, एकता र जनविश्वासको पुननिर्माणको ।’ बस्नेतले यही मूल मर्म बुझ्दै समानता, न्याय र श्रमिक अधिकारका लागि अझ सशक्त, जुझारु र संगठित ढंगले अघि बढ्नुपर्ने समय आएको बताए ।
‘जनताको बहुदलीय जनवादको मार्गदर्शनमा समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय अभियानलाई अझ प्रभावकारी बनाऔँ ।’ सचिव बस्नेतले भने ।








प्रतिक्रिया