काठमाडौं । नेकपा (एमाले)का नेता प्रदीप ज्ञवालीले कम्युनिष्ट आन्दोलन खडेरीको दुबो जस्तो फेरि मौलाउने बताएका छन् ।
नेपाल कम्युनिष्ट पार्टीको स्थापनाको ७७ औं वर्षको अवसरमा नेता ज्ञवालीले स्थापनाकालदेखि नै विभिन्न धक्का, विभाजन र विरोधाभाषा खेपे पनि यो आन्दोलन दुबो जस्तै हरेक खडेरी र दलनलाई चिर्दै पुनः मौलाउँदै आएको उल्लेख गरे ।
ज्ञवालीले विगतको वर्ष कम्युनिष्ट आन्दोलनका लागि सुखद् नरहेको बताए । उनले यो असाधारण धक्कालाई आधार बनाएर केही व्यक्तिले आन्दोलन समाप्त भएको घोषणा गरेको उनले उल्लेख गरे ।
‘विचारधाराको मृत्यु र इतिहासको अन्त्यको घोषणा गर्ने फुकुयामा अचेल आफ्ना भविष्यवाणीप्रति पछुताउँदैछन् ’ ज्ञवालीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘हाम्रा फुकुयामाहरुका भविष्यवाणी पनि व्यर्थ सावित हुनेछन् । किनभने कम्युनिष्ट आन्दोलनको स्थापना, अस्तित्व र भविष्य कसैको व्यक्तिगत इच्छाबाट होइन, समाजको ऐतिहासिक विकासक्रम, वर्ग संरचना र रुपान्तरणको वस्तुगत आवश्यकताबाट निर्दिष्ट छ ।’
ज्ञवालीले कम्युनिष्ट आन्दोलनले खेपेको वर्तमान धक्का र चुनौतीलाई सामान्य रुपमा लिने छुट आफूहरुलाई नभएको उल्लेख गरेका छन् । बरु पार्टी स्थापनाका बेलाका अभिभारा पूरा गर्नका लागि संकल्प गर्ने दिनका रुपमा आजको दिनलाई सम्झनु पर्ने उनको भनाइ छ ।
‘वर्तमानका धक्का र चुनौतीलाई सामान्य रुपमा लिने छुट हामीलाई छैन । यसले हामीबट निर्मम आत्मसमीक्षा, संरचनागत पुनसंरचना, नयाँ डाइनामिक्सलाई बुझ्न र सामना गर्नसक्ने नयाँ उर्जाको माग गरिरहेको छ’ ज्ञवालीले लेखेका छन्, ‘७७ औं स्थपना दिवशको सन्दर्भमा संकल्प गरौँ हामी यी अभिभारा पूरा गर्दै आन्दोलनलाई नयाँ जीवन दिनेछौँ ।’








प्रतिक्रिया