२६ असार २०८३, शुक्रबार

नेकपा स्थापना दिवस : तीन प्रश्नको उत्तर खोज्न नेता विष्णु रिजालको आग्रह

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा (एमाले)को केन्द्रीय सदस्य विष्णु रिजालले नेपाल कम्युनिष्ट पार्टी इतिहासकै रक्षात्मक अवस्थामा पुगेका बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को ७७ औं स्थापना दिवसका अवसरमा सामाजिक सञ्जालमा आफ्ना धारणा राख्दै रिजालले पार्टीलाई पहिलाकै अवस्थामा फर्काउन कम्तिमा तीनवटा प्रश्नको जवाफ खोज्नुपर्ने बताए ।

रिजालले २०४६ सालयता नेकपा सबैभन्दा बढी रक्षात्मक, संकटग्रस्त र बहसको अवस्थामा आएको उल्लेख गरे । एमालेका चार र तत्कालीन माओवादीका दुई जना गरी छ जना प्रधानमन्त्री बनाइसकेको पार्टी यसपटक प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी दलको हैसियत पनि प्राप्त नगर्नु गम्भीर चिन्ताको विषय भएको रिजालको धारणा छ ।

रिजालले पार्टीलाई प्रतिकूलताबाट अनुकूलतामा बदल्न कम्तिमा तीनवटा प्रश्नको जवाफ खोजेर सुधारको बाटोमा लैजानु पर्ने बताए । रिजालका अनुसार पराजित मनोविज्ञान, भद्धा कमिटी, अव्यवस्थित संगठन प्रणाली, पुरानै चिन्तन र म बाट सुरु भएरै ममै अन्त्य हुने कार्यशैलीकै रक्षात्मक बनेको कम्युनिष्ट आन्दोलनलाई पहिलै कै अवस्थामा पुर्‍याउन सक्छौँ भनेर जवाफ खोज्नुपर्ने छ ।

यसैगरी, पार्टीमा सुधार, परिवर्तन र परिमाजर्नका लागि केही घोषणा गरेर नयाँ आशाको सञ्चार गर्न सक्छौँ ? यस प्रश्नको पनि जवाफ खोज्नुपर्ने रिजालको भनाइ छ । रिजालले युवा पुस्ता (जेनजी)ले सुन्न, बुझ्न र अंगाल्न सक्ने पार्टीका रुपमा नेकपालाई विकास गर्न सक्छौँ भन्ने प्रश्नको पनि जवाफ खोज्नुपर्ने बताएका छन् ।

‘चिन्ता मात्र होइन, चिन्तन गरौँ । धेरै बिग्रिसकेको छ, केही अझै बचाउन सकिन्छ’ रिजालले कम्युनिष्ट दर्शन उल्लेख गर्दै लेखेका छन्, ‘विनाश वा विकासका लागि आन्तरिक कारण प्रधान हुन्छ, दोष अरुतिर मात्रै फर्काएर समस्याबाट मुक्त भयौँ भन्दा यसभन्दा ठूलो दुर्घटनाले प्रतिक्षा गरेको हुन्छ ।’

नेपाल कम्युनष्टि पार्टीको स्थापना २००६ साल वैशाख ९ गते अर्थात २२ अप्रिल १९४९ मा भएको थियो । यसका संस्थापक पुष्पलाल श्रेष्ठ, नरबहादुर कर्मचार्य, निरञ्जन गोविन्द वैद्य, नारायणविलास जोशी र मोतीदेवी श्रेष्ठ हुन् ।