काठमाडौं । इक्रा नेपाल लिमिटेडले एमएडब्लू हायर पर्चेज प्राइभेट लिमिटेड (एमएचपीएल)को सुधारिएको वित्तीय प्रदर्शन र बलियो सम्पत्ति गुणस्तरलाई ध्यानमा राखी क्रेडिट रेटिङ अपग्रेड गरेको छ ।
कम्पनीको दीर्घकालीन कर्जा रेटिङ एलबीबी प्लसबाट बढाएर एलबीबीबी माइनस गरिएको छ भने अल्पकालीन रेटिङ ए४ प्लसबाट सुधार भई ए३ पुगेको छ।
यो रेटिङ अपग्रेडले एमएचपीएलको समग्र क्रेडिट प्रोफाइल सुदृढ बनाउने दिशामा भएको निरन्तर प्रगतिलाई देखाउँछ । कम्पनीले विशेषगरी मोबाइल फोन फाइनान्सिङको क्षेत्रमा राम्रो रिकभरी संयन्त्र र प्रविधिमा आधारित नियन्त्रण प्रणाली अपनाएका कारण सम्पत्ति गुणस्तरमा उल्लेखनीय सुधार गरेको बताइएको छ ।
एमएचपीएलले नाफा आर्जनको स्तर पनि सन्तुलित रूपमा कायम राखेको छ । कम्पनीको नेट इन्ट्रेस्ट मार्जिन स्थिर रहेको छ भने सञ्चालन खर्च नियन्त्रणमा राख्दा निरन्तर सञ्चालन नाफा कायम राख्न सहयोग पुगेको छ । साथै, कम्पनीले करिब ९६ प्रतिशतको बलियो प्रावधान कभरेज कायम राखेको छ, जसले वित्तीय स्थायित्व बढाउनुका साथै सम्भावित नोक्सानी बहन गर्ने क्षमता सुदृढ बनाएको छ । यसको कर्जा पोर्टफोलियो पनि विविध र स–साना खण्डमा विभाजित रहेको छ, जसमा मध्यम लोन–टु–भ्याल्यु अनुपातमा ध्यान दिइएकोले जोखिम न्यूनीकरणमा मद्दत पुगेको बताइएको छ ।
पाँच दशकभन्दा लामो समयदेखि नेपालको अटोमोबाइल क्षेत्रमा स्थापित एमएडब्लू ग्रुपको हिस्सा हुनु पनि एमएचपीएलको लागि थप बलियो पक्ष हो । यो समूहको सशक्त बजार उपस्थिति र अग्रणी ब्रान्डहरूसँगको साझेदारीले व्यवसाय विस्तारमा सहयोग गर्नुका साथै वित्तीय संस्थाबाट हुने लगानीको पहुँचलाई सहज बनाएको छ ।
सन् २०११ मा स्थापना भएको एमएडब्लू हायर पर्चेजले ग्राहकलाई सहज र झन्झटरहित हायर पर्चेज सेवा उपलब्ध गराउँदै आएको छ ।








प्रतिक्रिया