काठमाडौं । अमेरिका र इरान शान्ति सम्झौताको नजिक पुगेको छ ।
अमेरिकी सञ्चारमाध्यम आउटलेट एक्सियोसले अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै दुई देशबीच युद्धविराम सम्झौतामा पुग्ने अन्तिम प्रयास भइरहेको जनाएको छ । अधिकारीहरूका अनुसार दुई देशबीचको वार्तामा प्रगति भएको छ, तर दुई पक्षबीच मतभेद कायमै छ । शान्ति सम्झौताका लागि पाकिस्तान, इजिप्ट र टर्कीले मध्यस्थकर्ताको रूपमा काम गरिरहेका छन् ।
अमेरिकी उपराष्ट्रपति जेडी भान्स, राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकफ र जारेड कुशनर इरान र मध्यस्थकर्ता देशहरूसँग निरन्तर छलफलमा छन् ।
यसैबीच, इरानको अर्ध–सरकारी तस्निम समाचार एजेन्सीले इरानी अधिकारीहरू र पाकिस्तानी सेना प्रमुख असिम मुनीरबीच बिहीबार तेहरानमा महत्त्वपूर्ण वार्ता हुने जनाएको छ । अमेरिकी सन्देश लिएर मुनीर बुधबार तेहरान पुगेका छन् । उनले विदेशमन्त्री अब्बास अरघचीसँग महत्त्वपूर्ण वार्ता गर्नेछन् ।
मिडिया रिपोर्टका अनुसार, शान्ति सम्झौता हुनुअघि अर्को एक प्रत्यक्ष वार्ता हुन सक्छ । जारी छलफल सकारात्मक भएमा सम्झौताको लागि युद्धविराम लम्बिन सक्छ । यसबारे हालसम्म दुवै देशले औपचारिक रूपमा केही खुलाएको छैन ।








प्रतिक्रिया