काठमाडौं । नेपाली काँग्रेसका नेता पूर्णबहादुर खड्काले अनुशासन समितिको स्पष्टीकरण सोध्ने निर्णय हास्यास्पद भएको बताएका छन् । कांग्रेसको केन्द्रीय अनुशासन समितिको बुधबार बसेको बैठकले खड्कालाई स्पष्टीकरण सोध्ने निर्णय गरेकोमा उनले स्पष्टीकरण सोध्ने निर्णय हास्यास्पद र अर्थहीन भएको बताएका हुन्।
‘अवैधानिक महाधिवेशन र अवैधानिक ढंगले निर्वाचित कार्यसमितिले बनाएका अवैध संरचनाले स्पष्टीकरण सोध्ने भन्ने निर्णय जुन भएको छ, यो निर्णय निरर्थक छ, हास्यास्पद छ, अर्थहीन छ,’ खड्काले भने।
उनले विशेष महाविधेशनबाट बनेको संरचना नै अवैधानिक भएको दावी गरेका छन् । कार्यवाहक सभापतिको हैसियतमै आफू सर्वोच्च अदालत गएको उनले उल्लेख गरेका छन्। अहिले मुद्दा विचाराधीन रहेको जनाउँदै आफू कार्यवाहक सभापतिको हैसियतमै रहेको उनको भनाइ छ।
‘म कार्यवाहक सभापतिकै हैसियतमा सर्वोच्च अदालतमा विशेष महाधिवेशन अवैधानिक ढंगले भएको हो, त्यसबाट निर्वाचित कार्यसमिति सबै अवैधानिक हुन्, आयोगको निर्णय पनि अघि भनेजस्तै संविधान, कानुन, दल सम्बन्धी ऐन, कांग्रेसको विधान र स्थापित नजिर विपरीत भएकाले म कार्यवाहक सभापतिकै हैसियतले सर्वोच्च अदालतमा गएँ। त्यो मुद्दा विचाराधीन छ,’ उनले भनेका छन्।
कांग्रेस सभपाति गगन थापाले सबैलाई वडावडामा पुगेर सदस्यता अद्यावधिक गर्न निर्देशन दिएका थिए। त्यसअघि उनले सबैको सदस्यता खारेज भएको बताएका थिए।
त्यसको विरोध गर्दै खड्काले गत चैत ३० मा विज्ञप्ति जारी गरेका थिए। त्यसअघि पनि खड्काले कार्यवाहक सभापतिको रुपमा विज्ञप्ति जारी गरेको भन्दै कांग्रेसले सचेत गराएको थियो। सचेत गराउँदा पनि कार्यवाहक सभापति भनेरै विज्ञप्ति जारी गरेपछि स्पष्टीकरण सोधिएको हो ।
खड्काले चित्तबुझ्दो स्पष्टीकरण नदिए कारबाही गरिने काँग्रेसले जनाएको छ।








प्रतिक्रिया