काठमाडौं । नेकपा (संयुक्त)ले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण र पूर्वाग्रही भन्दै अर्को शक्तिशाली आयोग गठन गरेर भदौ २३ र २४ गतेको घटनाको छानबिन गर्न माग गरेको छ ।
राष्ट्रिय सम्मेलन आयोजक कमिटीको बैठकपछि संयुक्तका कार्यवाहक अध्यक्ष घनश्याम भुसालले प्रेस विज्ञप्ति जारी गर्दै जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण र पूर्वाग्रही रहेको बताएका हुन् ।
‘गौरीबहादुर कार्की आयोगको प्रतिवेदन अपूर्ण र पूर्वाग्रही भएकाले वहालवाला न्यायाधीशको अध्यक्षतामा शक्तिशाली छानबिन आयोग गठन गरी भदौ २३ र २४ को घटनामा संलग्न अपराधीहरूलाई कारबाही गर्न यो बैठक जोडदार माग गर्दछ,’ विज्ञप्तिमा भनिएको छ । साथै, पार्टीले विसं २०४८ देखिका उच्चपदस्थ कर्मचारी र राजनीतिक व्यक्तिहरूको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय समिति गठनको माग पनि गरेको छ । पार्टीले आफ्नो राष्ट्रिय सम्मेलन आउँदो मंसिर महिनामा गर्ने निर्णय गरेको छ ।









प्रतिक्रिया