सुर्खेत । सुर्खेतका भेरीगंगा, लेकबेशी र गुर्भाकोट नगरपालिकाले एकीकृत फोहोर प्रशोधन केन्द्र बनाउने भएका छन् ।
कर्णाली प्रदेश सरकारको आर्थिक सहयोगमा तीन वटै स्थानीय तहको फोहोर सङ्कलन गरी प्रशोधन गरिनेछ । फोहोर प्रशोधन केन्द्रका लागि आवश्यक भौतिक संरचना निर्माणको काम सकिएको भेरीगंगा नगरपालिकाका नगरप्रमुख यज्ञप्रसाद ढकालले जानकारी दिए ।
फोहरबाट मोहर आर्जन गर्ने लक्ष्यका साथ उक्त केन्द्र स्थापना गर्न लागिएको नगर प्रमुख ढकालले बताए । ‘तीन वटै पालिकाबाट उत्पादन हुने फोहोर व्यवस्थापन गरी फोहोरबाट ग्यास उत्पादन गर्ने योजना समेत रहेको छ’ नगरप्रमुख ढकालले भने, ‘यो योजना कार्यान्वयन हुँदा फोहोर न्यूनीकरण गरी नगरको आर्थिक विकासमा समेत टेवा पुग्ने छ ।’

भेरीगंगा–१२ स्थित रामजानकी सामुदायिक वनको २० रोपनी जग्गामा उक्त संरचना निर्माण गरिएको उनले बताए ।
२०७९ चैतमा विस्तृत परियोजना प्रतिवेदन तयार गरी प्रदेश सरकार र नगरपालिकाको संयुक्त लगानीमा निर्माण सुरु उक्त आयोजनाअन्तर्गत फोहरको वर्गीकरण गरी प्रशोधन गरिनेछ । केही फोहोरबाट ग्यास र केहीबाट मल उत्पादन गर्ने लक्ष्य आयोजनाले लिएको छ । भौतिक संरचना निर्माण गरिए पनि ती संरचनामा पानी तथा बत्ती र पर्खालका काम भइरहेको छ ।
सुरुमा ५० लाख बजेटबाट सुरु गरिएको उक्त योजनाका लागि चालु आर्थिक वर्षमा कर्णाली प्रदेश सरकारले ५० लाख र भेरीगंगा नगरपालिकाले ४९ लाख ५० हजार बजेट विनियोजन गरेको छ । उक्त योजनाका लागि २०८२ वैशाख २४ गते सौरव निर्माण सेवासँग ९९ लाख ९८ हजार ३५३ रुपैयाँमा ठेक्का सम्झौता गरी काम भइरहेको छ ।
आगामी असार १५ गतेसम्म काम पूरा गर्ने गरी काम भइरहेको उनले बताए ।
फोहोर प्रशोधन केन्द्रको भौतिक पूर्वाधार तथा सडकको काम सम्पन्न भइसकेको भए पनि फोहोर वर्गीकरण गर्ने आवश्यक उपकरण खरिदका लागि बजेट अभाव रहेको छ ।








प्रतिक्रिया