हेटौंडा । हेटौंडा उपमहानगरपालिका–१८ स्थित हर्नामाडीबाट छतिवन जाने सडकखण्डमा रहेका अवैध संरचना स्थानीय प्रशासनले हटाएको छ ।
मकवानपुर जिल्ला प्रहरी कार्यालय, नेपाली सेना, डिभिजन वन कार्यालय मकवानपुर तथा उपमहानगरपालिकाको संयुक्त टोलीले स्याउली बजार क्षेत्रमा डोजर प्रयोग गरी करिब १० वटा छाप्रा भत्काएको हो । यो स्थानमा अवैध रूपमा व्यापार सञ्चालन भइरहेको पाइएको थियो ।
अनुगमनका क्रममा सरकारी तथा सार्वजनिक क्षेत्र अतिक्रमण गरी बनाइएका संरचना हटाइएको जनाइएको छ । सम्बन्धित निकायले यसअघि नै उक्त स्थान खाली गर्न चेतावनी दिएको भए पनि अटेर गरेपछि डोजर प्रयोग गरी संरचना हटाइएको बताइएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीका अनुसार सोही क्षेत्रमा यसअघि अवैध रूपमा उत्पादन तथा संकलन गरिएको मदिरा समेत नियन्त्रणमा लिई नष्ट गरिएको थियो ।
स्थानीय प्रशासनले सार्वजनिक जग्गा अतिक्रमण तथा अवैध व्यापार नियन्त्रणका लागि यस्ता अभियानलाई निरन्तरता दिने जनाएको छ ।








प्रतिक्रिया