–अन्जनी कुमार अधिकारी
उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केमा नेपाली सेनाको १८ नं. बाहिनी अड्डा हाताभित्र सञ्चालनमा रहेको सामुदायिक सर्पदंश उपचार केन्द्रलाई अत्याधुनिक हाइड्रोलिक मेडिकल बेड सहयोग प्राप्त भएको छ ।
सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत करिब २ लाख ५० हजार रुपैयाँ बराबरको हाइड्रोलिक मेडिकल बेड उपचार केन्द्रलाई हस्तान्तरण गरेको हो ।
शुक्रबार आयोजित एक कार्यक्रममा कम्पनीका नायब महाप्रबन्धक सुबोध श्रेष्ठले बेड औपचारिक रूपमा केन्द्रलाई हस्तान्तरण गरेका थिए । मेडिकल बेड सर्पदंशका गम्भीर अवस्थाका बिरामीको उपचारमा विशेष उपयोगी हुने अपेक्षा गरिएको छ ।
सामुदायिक सर्पदंश उपचार केन्द्र सञ्चालन समितिका सचिव यदु ढकालका अनुसार मदन भण्डारी आँखा अस्पताल गाईघाटका अध्यक्ष भागवत राउतको पहलमा उक्त सहयोग उपलब्ध भएको हो । उनले उपचार केन्द्रमा आधुनिक उपकरण थपिँदै जाँदा बिरामीलाई अझ सुरक्षित र प्रभावकारी सेवा दिन सहज हुँदै गएको बताए ।

कार्यक्रममा बोल्दै अध्यक्ष राउतले भुल्केको सामुदायिक सर्पदंश उपचार केन्द्रलाई आगामी दिनमा पनि निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । साथै, नेपाली सेनाको हाताभित्र रहेको उपचार केन्द्रको जमिन उपचार केन्द्रकै स्वामित्वमा रहेको प्रमाणित भए थप भवन निर्माणका लागि समेत पहल गर्ने बताए ।
त्यस्तै, त्रियुगा नगरपालिका–२ का वडा अध्यक्ष घमानसिंह खत्रीले सर्पदंश उपचार केन्द्र प्रत्यक्ष रूपमा मानव जीवनसँग जोडिएको अत्यन्त महत्वपूर्ण सेवा केन्द्र भएकाले सबै तह र तप्काबाट सहयोग आवश्यक रहेको उल्लेख गरे । उनले केन्द्रलाई आगामी दिनमा अझ अत्याधुनिक सुविधायुक्त उपचार केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड दिए ।
वि.सं. २०७१ सालमा स्थापना भएको भुल्के सामुदायिक सर्पदंश उपचार केन्द्रले हालसम्म करिब १२ हजार ६ सयभन्दा बढी सर्पदंशका बिरामीको सफल उपचार गरिसकेको जनाएको छ । ग्रामीण क्षेत्रमा सर्पदंशका बिरामीलाई सहज र निःशुल्कजस्तै सेवा उपलब्ध गराउँदै आएको यो केन्द्र पूर्वी नेपालकै उदाहरणीय स्वास्थ्य सेवा केन्द्रका रूपमा स्थापित हुँदै गएको छ ।
केन्द्रका अनुसार गत वर्ष मात्रै ४६१ जना महिला र २९८ जना पुरुष गरी जम्मा ७५९ जना सर्पदंशका बिरामीको सफल उपचार गरिएको थियो । यसले स्थानीय समुदायमा उपचार केन्द्रको आवश्यकता र प्रभावकारिता स्पष्ट रूपमा देखाएको छ । उदयपुर जिल्लामा विशेषगरी गोमन, करैत, घोरिया र भाइपर जस्ता विषालु सर्पहरू पाइने गर्दछन् ।
नेपाली सेनाको १८ नं. बाहिनी अड्डा हाताभित्र सञ्चालनमा रहेको उपचार केन्द्रमा सेनाका दक्ष मेडिकल प्राविधिकहरूको सक्रिय संलग्नतामा उपचार सेवा प्रदान हुँदै आएको छ । हाल डा. अभिषेक थापाको नेतृत्वमा चिकित्सकीय टोलीले नियमित उपचार सेवा दिइरहेको केन्द्र सञ्चालन समितिका अध्यक्ष पवित्रा गिरिले जानकारी दिइन् ।
प्राप्त हाइड्रोलिक मेडिकल बेड विशेषगरी भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने जटिल अवस्थाका सर्पदंश बिरामीका लागि अत्यन्त उपयोगी हुने विश्वास गरिएको छ । यसले आकस्मिक अवस्थामा बिरामीको जीवनरक्षा गर्न थप सहजता प्रदान गर्ने अपेक्षा गरिएको छ ।
स्थानीय समुदायको स्वास्थ्य सुरक्षामा महत्वपूर्ण भूमिका खेल्दै आएको भुल्के सामुदायिक सर्पदंश उपचार केन्द्रलाई निजी क्षेत्रबाट प्राप्त यस प्रकारको सहयोगले उपचार सेवाको स्तर अझ सुदृढ बन्ने विश्वास गरिएको छ ।








प्रतिक्रिया