सर्लाही । जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार भएका एक थुनुवालाई सर्लाहीबाट प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको टोलीले मलंगवा नगरपालिका–९ गोरखकाली क्षेत्रबाट २५ वर्षीय सुनिल बरहीलाई बिहीबार बिहान करिब ७ बजे नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार मलंगवा नगरपालिका–१२ निवासी बरही भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा कारागार कार्यालय सिन्धुलीको पर्खाल फुटाई फरार भएका थिए । उनी अपहरण, शरीर बन्धक तथा कर्तव्य ज्यान मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका फरार प्रतिवादी हुन् ।
सर्लाही प्रहरीका अनुसार २०७८ चैत २० गते साँझ मलंगवा–१२ का ८ वर्षीय बालक मिठु भन्ने आकाश कुमार ठाकुरको अपहरणपछि हत्या गरिएको घटनामा बरहीको संलग्नता रहेको छ । आरोपितले सामाजिक सञ्जाल फेसबुकमार्फत १५ लाख रुपैयाँ फिरौती माग्दै बालकलाई अपहरण गरी एक घरको कोठामा बन्धक बनाएका थिए । त्यसपछि बालकको घाँटी गम्छाले कसी हत्या गरिएको थियो । त्यसपछि शवलाई प्लास्टिकको बोरामा राखी छिमेकीको घरको शौचालयको सेफ्टी ट्यांकीमा फालिएको अवस्थामा फेला परेको थियो ।
पक्राउ परेका बरहीमाथि थप अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।








प्रतिक्रिया