काठमाडौं । कृषि विकास बैंकले व्यवसायिक तरकारी खेती तथा तरकारी खेती मूल्य श्रंखलाको सुदृढीकरणमा जोड दिने उद्धेश्यले ‘व्यवसायिक तरकारी खेती’ थिमसहित २०८३ सालको भित्रेपात्रो सार्वजनिक गरेको छ । विशेषगरी पात्रोमा विभिन्न तरकारीहरूको महत्व, उत्पादन विधि र पोषणसम्बन्धी जानकारी समेटिएको छ, जसले किसान तथा सर्वसाधारणलाई उपयोगी ज्ञान प्रदान गर्ने उद्देश्य राखेको देखिन्छ ।
पात्रोमा टमाटर, गाजर र आलुजस्ता प्रमुख तरकारीहरूको तस्वीरसँगै त्यसको खेती प्रविधि, उपयुक्त मौसम, मलजल व्यवस्थापन तथा रोग नियन्त्रणका उपायहरू समावेश गरिएको छ । उदाहरणका लागि टमाटर खेतीका लागि उपयुक्त तापक्रम र सिँचाइ व्यवस्थापनबारे जानकारी दिइएको छ भने गाजरमा पाइने भिटामिन ‘ए’को महत्व र यसको स्वास्थ्य लाभ उल्लेख गरिएको छ ।
त्यस्तै, आलुको उत्पादन बढाउन बीउ छनोट र खेत तयारीबारे पनि स्पष्ट सन्देश दिइएको छ ।
बैंकका अनुसार पात्रोको अर्को महत्वपूर्ण पक्ष भनेको ‘सरल कर्जा’ र ‘आधुनिक कृषि’ जस्ता सन्देशमार्फत बैंकले कृषकलाई वित्तीय पहुँच विस्तार गर्न प्रोत्साहित गर्नु हो । कृषि ऋणको सहज उपलब्धता, व्यवसायिक खेतीतर्फ आकर्षण र आत्मनिर्भर अर्थतन्त्र निर्माणमा बैंकको भूमिका प्रस्ट रूपमा झल्काइएको छ । समग्रमा कृषि विकास बैंकको यो भित्तेपात्रो केवल मिति हेर्ने माध्यम मात्र नभई कृषि ज्ञान र सचेतना फैलाउने सशक्त उपकरण बनेको छ । यसले किसानलाई आधुनिक प्रविधि अपनाउन प्रेरित गर्नुका साथै तरकारी उत्पादन वृद्धि गरी पोषण सुरक्षा र आर्थिक समृद्धिमा टेवा पुर्याउने अपेक्षा गरिएको छ ।








प्रतिक्रिया