काठमाडौं । नेपाल टेलिकमले २०८२ सालको एसईई परीक्षामा सहभागी परीक्षार्थीहरुका लागि एसईई अफर २०८२ उपलब्ध गराएको छ ।
टेलिकमका अनुसार यस अफरअन्तर्गत विद्यार्थीहरुलाई नयाँ सिमकार्ड उपलब्ध गराइने छ भने पहिले नै नेपाल टेलिकमको सिम प्रयोग गरिरहेका विद्यार्थीहरुले समेत सोही नम्बरमा अफर प्राप्त गर्नसक्ने छन् ।
एसईई अफर आज (२०८२ चैत २६)देखि सुरु भएको छ र आगामी २०८३ असार २६ गतेसम्म उपलब्ध हुनेछ । यसका लागि २० रुपैयाँमा नयाँ सिमकार्ड नेपाल टेलिकमका देशभरका कार्यालयहरुबाट उपलब्ध हुनेछ । सिमकार्ड सक्रिय गरिसकेपछि ३० दिनसम्मका लागि विभिन्न अफरहरु उपलब्ध हुनेछन् । नयाँ सिमकार्डमा मेन ब्यालेन्सको रुपमा उपलब्ध हुने ९.८० रुपैयाँबाट जुनसुकै नेटवर्कमा कल गर्न, एसएमएस पठाउन वा डाटा चलाउन सकिनेछ ।
यसमा एसईई प्याकेज २०८२ अन्तर्गत ३० दिन सम्मका लागि प्रतिदिन नेपाल टेलिकमको नेटवर्कभित्र कुराकानी गर्न २० मिनेट अन–नेट भ्वाइस, १० वटा अन–नेट एसएमएस र ५०० एमबी डाटा समेत उपलब्ध हुनेछ भने प्रत्येक दिन प्राप्त हुने सेवा सोही दिनका लागि मात्र कायम रहने कम्पनीले जनाएको छ ।
अफरअन्तर्गत उपलब्ध हुने बोनस अन रिचार्जमा ५० रुपैयाँ वा सोभन्दा बढी रकम रिचार्ज गर्दा प्रत्येक रिचार्जमा जुनसुकै समयमा ५०० एमबी डाटा चलाउन, नेपाल टेलिकमकै नेटवर्क भित्र ५० मिनेट कल गर्न र ५० वटा अन–नेट एसएमएस पठाउन सकिने बोनस सुविधा समेत उपलब्ध हुनेछ । रिचार्जमा प्राप्त हुने बोनस प्राप्त भएको तीन दिनभित्र प्रयोग गरिसक्नु पर्दछ ।
–नयाँ सिम प्राप्त गर्नका लागि परीक्षार्थीले एसईईको प्रवेश पत्र वा कक्षा १० को मार्कसिटको फोटोकपी, एकप्रति फोटो र आफ्नो वा अभिभावकको नागरिकता, राष्ट्रिय परिचयपत्र लगायतका सरकारी परिचयपत्रको फोटोकपी संलग्न गरी फाराम भर्नुपर्नेछ । साथै सिमकार्ड सक्रिय गर्नका लागि स्वयंले स्टार१४१४ह्यास डायल गर्नुपर्नेछ । सो पश्चात् अफर प्राप्त गर्नका लागि स्टार१६००ह्यास डायल गरी निर्देशनअनुसार गर्नुपर्नेछ ।
–पहिले नै प्रयोग भइरहेको सिममा समेत स्टार१६००ह्यास डायल गरी प्राप्त निर्देशनअनुसार अंग्रेजी अल्फाबेटबाहेक एसईईको सिम्बोल नम्बर टाइप गरी सेन्ड गर्ने ।
–विक्रम संवतमा जन्म मिति टाइप गरी सेन्ड गर्ने, जन्ममिति टाइप गर्दा वर्ष, महिना र दिन ढाँचामा टाइप गर्नुपर्नेछ ।
सबै तथ्यांक प्रमाणिकरण पश्चात अफर उपलब्ध हुनेछ । गत वर्ष समेत कम्पनीले विद्यार्थीहरुलाई यस प्रकारको अफर उपलब्ध गराएको र विद्यार्थीहरुको बढ्दो आकर्षणलाई मध्यनजर गर्दै यसलाई निरन्तरता दिइएको हो । यसबाट विद्यार्थी वर्ग लाभान्वित हुने कम्पनीको अपेक्षा छ ।








प्रतिक्रिया