काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूलाई सरकारले १३ दिनसम्म गैरकानूनी नियन्त्रणमा राखेको र प्रमाण नपुगेपछि रिहा गरेको बताएका छन् । आज रिहा भएपछि सामाजिक सञ्जालमार्फत ओलीले आफूलाई सरकारले पूर्वाग्रह र प्रतिशोधपूर्ण गिरफ्तार गरेको बताएका हुन् ।
उनले लेखेका छन्, ‘सरकारले पूर्वाग्रह र प्रतिशोधपूर्ण रूपमा फौजदारी अभियोग लगाई १३ दिनसम्म गैरकानुनी नियन्त्रणमा राखे पनि मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु,’ उनले भनेका छन्, ‘मेरो रिहाइका लागि आवाज उठाउनुहुने सम्पूर्ण न्यायप्रेमी दिदीबहिनी तथा दाजुभाइहरू, कानुनी लडाइँमा अहोरात्र साथ दिनुहुने कानुन व्यवसायी मित्रहरू, न्यायकर्मीहरु, न्यायको पक्षमा वकालत गर्ने विभिन्न राजनीतिक दल, नेताहरू र सञ्चारकर्मीहरूप्रति आभार प्रकट गर्दछु। साथै, परमादेश जारी गर्ने सम्मानित सर्वोच्च अदालतप्रति उच्च सम्मान व्यक्त गर्दछु।’
यस्तै उनले प्रहरीको नियन्त्रणमा रहँदा आफूप्रति मानवीय व्यवहार गर्ने प्रहरी, प्रशासन तथा स्वास्थ्य उपचारमा खटिएका सबैप्रति कृतज्ञ रहेको बताउँदै आफ्नो रिहाइको माग गर्नेहरूमाथि चर्को दमन गरी घाइते बनाएका सबै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरे ।
घाइतेहरूको उपचार खर्च राज्यले बेहोर्नुपर्ने स्मरण गराउँदै उनले यदी राज्य उदासीन भए पार्टीले उपचार खर्च बेहोर्ने जानकारी पनि गराएका छन् ।








प्रतिक्रिया