३ श्रावण २०८३, आइतबार

बाढीले डाइभर्सन बगाउँदा अवरुद्ध पूर्वपश्चिम राजमार्ग ५ घण्टापछि सुचारु

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रौतहट । गएरातिको भारी वर्षासँगै आएको बाढीले सर्लाहीको हरिजनस्थित चापिनी खोलाको डाइभर्सन बगाउँदा अवरुद्ध भएको पूर्वपश्चिम राजमार्ग पुनः सञ्चालनमा आएको छ । बिहीबार बिहान साढे ३ बजेदेखि रोकिएको यातायात बिहान साढे ८ बजेपछि सुचारु भएको हो ।

पूर्वपश्चिम राजमार्गलाई ६ लेनमा विस्तार गर्ने क्रममा हरिवनको तीन घरे र बासा टोलको बीचमा पर्ने चापिनी खोलामा नयाँ पुल निर्माण भइरहेको छ ।

पुरानो पुल मर्मत र नयाँ पुल निर्माणका लागि सवारी साधन आवतजावत गर्न वैकल्पिक बाटोका रूपमा डाइभर्सन बनाइएको थियो । तर, राति परेको मुसलधारे वर्षाका कारण खोलामा बहाव बढ्दा अस्थायी डाइभर्सन पूर्ण रूपमा बगाएपछि राजमार्ग ठप्प भएको थियो ।

डाइभर्सन बगेपछि सयौंको सङ्ख्यामा सवारी साधन र यात्रुहरू बीच बाटोमै अलपत्र परेका थिए । तत्कालको समस्या समाधानका लागि इलाका प्रहरी कार्यालय हरिवन र सडक विभागको समन्वयमा पुरानै पुलको बाँकी रहेको भागमा माटो भरेर गाडी गुड्न मिल्ने बनाइएको छ ।

इलाका प्रहरी कार्यालय हरि वनका प्रहरी निरीक्षक चन्द्रकान्त अधिकारीका अनुसार, अहिले सोही पुरानो पुलबाट एकतर्फी रूपमा सवारी साधनहरू सञ्चालनमा ल्याइएको छ । ‘लामो समय जाममा परेका गाडीलाई प्राथमिकताका साथ गन्तव्यतर्फ पठाउने काम भइरहेको छ,’ निरीक्षक अधिकारीले जानकारी दिए ।

पुलको अवस्था र सडक विस्तारको काम जारी रहेकाले उक्त खण्डमा सवारी चलाउँदा सावधानी अपनाउन प्रहरीले आग्रह गरेको छ । बाढीले सडक संरचनामा क्षति पुर्‍याइरहने जोखिम कायमै रहेकाले मौसमको अवस्था हेरेर यात्रा गर्न र सडकमा खटिएका सुरक्षाकर्मीको निर्देशन पालना गर्न यात्रु तथा चालकलाई सूचित गरिएको छ ।