काठमाडौं । नबिल बैंकले डिजिटल कारोबारलाई सहज, सुरक्षित र अन्तर्राष्ट्रिय स्तरमा विस्तार गर्ने उद्देश्यसहित ‘इलेक्ट्रोनिक पेमेन्ट गेटवे (इपीजी)’ सेवा सञ्चालनमा ल्याएको छ। यस सेवामार्फत नेपाली व्यवसायीहरूले आफ्ना वस्तु तथा सेवा विश्व बजारमा बिक्री गर्न सक्ने भएका छन्।
बैंकका अनुसार इपीजी प्रणालीले वेबसाइटमार्फत सुरक्षित वातावरणमा भुक्तानी स्वीकार गर्ने सुविधा प्रदान गर्दछ। यसमार्फत भीसा, मास्टरकार्ड र यूनियनपे इन्टरनेशनल जस्ता अन्तर्राष्ट्रिय कार्डमार्फत नेपाल तथा विदेशबाट भुक्तानी गर्न सकिनेछ।
यो प्रणालीमा ट्रान्सपोर्ट लेयर सिक्युरिटी (टीएलएस) इन्क्रिप्सन प्रयोग गरिएको छ, जसले सम्पूर्ण कारोबार प्रक्रियालाई सुरक्षित बनाउने बैंकले जनाएको छ। साथै, थ्रीडी सिक्योर प्रविधि—भेरिफाइड बाई भीसा, मास्टरकार्ड सिक्योरकोड तथा यूनियनपे ओटीपीको समर्थनले थप सुरक्षा सुनिश्चित गर्नेछ।
इपीजी सेवाले अनलाइन व्यवसायलाई राष्ट्रिय सीमाभन्दा बाहिर विस्तार गर्न सहयोग पुर्याउने विश्वास बैंकको छ। यसमा रेस्पोन्सिभ वेब डिजाइन भएकाले वेबसाइट, मोबाइल तथा ट्याबलेटमा सजिलै प्रयोग गर्न सकिन्छ।
यसका अतिरिक्त, ‘भर्चुअल टर्मिनल’ अर्थात् मर्चेन्ट पोर्टलमार्फत व्यवसायीहरूले रियल टाइममा कारोबारको रिपोर्टिङ तथा व्यवस्थापन गर्न सक्नेछन्। नियममा आधारित अनलाइन फ्रड म्यानेजमेन्ट टुलले ठगीजन्य कारोबार न्यूनिकरण गर्न मद्दत गर्ने बताइएको छ।
नाबिल बैंकले यो सेवाबाट नेपालमा ई–कमर्सको विकासलाई थप गति दिने विश्वास व्यक्त गरेको छ।








प्रतिक्रिया