२१ असार २०८३, आइतबार

अमेरिका–इरानबीचको अस्थायी युद्धविरामको स्वागत गर्दै एमाले महासचिवले भने– मानवता अझै जीवित छ

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अमेरिका र इरानबीच दुई साताका लागि अस्थायी युद्धविराम सहमति भएपछि नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले ‘सुन्दा नै आङ सिरिङ्ग हुने एउटा युद्ध उन्मादमा अस्थायी विराम’ लागेको भन्दै खुसी व्यक्त गरेका छन् । उनले शान्तिका लागि यो कदम सकारात्मक भएको उल्लेख गरे ।

सामाजिक सञ्जालमा लेख्दै महासचिव पोखरेलले आधुनिक सूचना तथा प्रविधिको युगमा समेत कुनै सभ्यतालाई ढुंगे युगमा फर्काउने धम्की दिइनु मानव सभ्यतामाथिको नाङ्गो व्यंग्य भएको टिप्पणी गरे । उनले यस्तो संवेदनशील अवस्थामा केही शासकहरूको मौनता लाजमर्दो देखिएको उल्लेख गर्दै विश्व समुदायको निष्क्रियताप्रति असन्तुष्टि व्यक्त गरे ।

‘यस्तो अवस्थामा कतिपय शासकहरूको मौनता लाजमर्दो देखिन्छ भने मानवता नै निरिह बनेको अनुभूति पीडाजनक स्थिति बन्यो ।’ महासचिव पोखरेलले भने । यसबाट मानवता नै निरिह बनेको अनुभूति भएको उनको भनाइ छ ।

महासचिव पोखरेलले इरानी जनताले कठिन परिस्थितिमा पनि आफ्नो देशको पक्षमा निर्भयतापूर्वक उभिएको उदाहरण प्रस्तुत गर्दै त्यसबाट मानवता अझै जीवित रहेको विश्वास व्यक्त गरे । साथै, अमेरिकी जनताले आफ्नै सरकारका कमजोरी र गलत नीतिविरुद्ध आवाज उठाएको उल्लेख गर्दै त्यसलाई सकारात्मक रूपमा लिएको उनले उल्लेख गरे ।

‘तर, यस्तै कठिन घडीमा आफ्नो देशको पक्षमा निर्भयतापूर्वक उभिएका इरानी जनतालाई देख्दा मानवता अझै जीवित छ भन्ने विश्वास जाग्छ । त्यस्तै, आफ्नै शासकको कमजोरी र गलत नीतिविरुद्ध आवाज उठाउने अमेरिकी जनताले पनि भविष्यप्रतिको आशा जगाएकै छन् । इरानी जनताको देश भक्तिवाट नेपाली जनले पनि पाठ सिकेकै हुनु पर्दछ ।’ पोखरेलले लेखेका छन् ।

यस्तै, महासचिव पोखरेलले अस्थायी युद्धविरामका लागि पहल गर्ने सबै पक्षप्रति आभार व्यक्त गर्दै विशेष गरी पाकिस्तानको मध्यस्थताप्रति सम्मान प्रकट गरे । उक्त युद्धविराम स्थायी शान्तिमा रूपान्तरण होस् भन्ने कामना उनले व्यक्त गरेका छन् ।

पोखरेलले युद्धमार्फत प्रभुत्व कायम गर्न खोज्ने शक्तिहरूलाई पनि यस द्वन्द्वले विश्व अर्थतन्त्रमा ठूलो असर पारेकाले पछि हट्ने अवस्था सिर्जना गरेको हुनसक्ने बताए । ‘युद्धका माध्यमबाट प्रभुत्व क़ायम गर्न हिँडेकाहरुलाई पनि विश्व अर्थतन्त्रलाई नै हल्लाइदिएको यस कठिन युद्धले पछि फर्कने बहाना खोज्न विवस बनाएकै हुनुपर्छ ।’ महासचिव पोखरेलले भने ।

महासचिव पोखरेलले सामाजिक सञ्जालमार्फत शान्ति, संवाद र सहअस्तित्वको पक्षमा सशक्त आवाज उठाउन सबैलाई आह्वान गर्दै ‘हिंसा मानवताको शत्रु हो– शान्ति नै हाम्रो साझा भविष्य हो’ भनेका छन् ।