काठमाडौं । राजधानीमा शान्ति सुरक्षा कडा बनाउने अभियानसँगै प्रहरीको सक्रियता बढेको छ । तर यही अभियानले केही व्यवसायी र सर्वसाधारणलाई पनि विवादमा तानेको आवाज उठ्न थालेको छ। प्रहरीको ‘मिशन सेफ्टी काठमाडौं’ अन्तर्गत गरिएको पछिल्लो कारबाहीले समाजका विभिन्न पेशामा संलग्न व्यक्तिहरूलाई समेत समेटेपछि प्रश्नहरू उब्जिएका हुन्।
यस क्रममा ठमेल क्षेत्रमा सञ्चालनमा रहेको फेवा रोधी क्लबसँग आबद्ध वकिल बमलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ। उनी राजनीतिक रूपमा राष्ट्रिय युवा संघ सँग जोडिएका व्यक्ति हुन्। उनको पक्राउप्रति एमाले सचिव महेश बस्नेतले सार्वजनिक रूपमा असन्तुष्टि व्यक्त गरेका छन्।
त्यसैगरी, जमलस्थित दरबार दोहोरी सञ्चालन गर्दै आएका अशोक गिरी, दरबारमार्ग क्षेत्रको लिक्विड लाउञ्ज बारसँग सम्बन्धित सञ्जीव लामा, तथा निर्माण सामग्री व्यवसायी सुनबहादुर तामाङ पनि प्रहरीको नियन्त्रणमा परेका छन्। उनीहरू आ–आफ्नो क्षेत्रमा सक्रिय भए पनि ‘सार्वजनिक शान्ति भंग गरेको’ आरोपमा अनुसन्धानका लागि हिरासतमा राखिएको बताइएको छ।
कपन र आसपास क्षेत्रमा गतिविधि देखाउँदै आएका ‘किमजोङ बोस’ भनेर चिनिने सुरज गुरुङसँग निकटता रहेको आधारमा केही व्यक्तिहरू समेत अनुसन्धानको दायरामा आएका छन्। साथै, सवारी चालक पेशामा रहेका अक्कलबहादुर थोकर पनि सोही अभियानअन्तर्गत कारबाहीमा परेका छन्।
ठमेल पर्यटन परिषद्का पूर्वअध्यक्ष समीर गुरुङ सरकारले शान्ति सुरक्षा कायम गर्ने नाममा मनोरञ्जन क्षेत्रका व्यवसायीलाई दुःख दिनु अनुचित भएको बताउँछन् । साँच्चैका गुण्डाले पनि ती व्यवसायीलाई विभिन्न किसिमले दुःख दिने, त्यसमाथि सरकार फेरिएपिच्छे ‘गुण्डा’ का नाममा उल्टै उनीहरुलाई पक्राउ गर्ने कुराले दोहोरो मारमा व्यवसायी परेको उनको भनाइ छ
व्यवसायीहरूले राज्यले सुरक्षा कायम गर्ने नाममा मनोरञ्जन तथा सेवा क्षेत्रमा काम गर्नेहरूलाई अनावश्यक रूपमा दबाब दिने प्रवृत्ति देखिएको बताइरहेका छन् । यसले व्यवसायीहरू दोहोरो समस्यामा परेको उनीहरूको भनाइ छ । यता, प्रहरी भने आफ्नो कदमलाई आवश्यक र प्रक्रियाअनुसार भएको दाबी गर्छ। काठमाडौं प्रहरीका प्रवक्ता पवनकुमार भट्टराई का अनुसार कुनै व्यक्तिको पेशा वा पृष्ठभूमिले मात्र उनी निर्दोष हुन्छन् भन्ने नहुने भएकाले प्राप्त सूचना र अनुसन्धानका आधारमा कारबाही अघि बढाइएको हो। हाल अनुसन्धानकै क्रममा म्याद थप गरिएको र अन्तिम निष्कर्ष आउन बाँकी रहेको उनको भनाइ छ ।
हाल जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा ७० भन्दा बढी व्यक्तिमाथि अभद्र व्यवहारसम्बन्धी मुद्दा चलिरहेको छ। तीमध्ये केही विगतमा पनि विभिन्न घटनामा संलग्न रहेको प्रहरीको दाबी छ भने केही नयाँ अनुहारहरू पनि अनुसन्धानमा तानिएका छन्।








प्रतिक्रिया