भैरहवा । भैरहवामा जारी २४ औं संस्करणको रुपन्देही सुपर लिग एक दिवसीय क्रिकेट प्रतियोगिताअन्तर्गत ‘बी’ डिभिजनको खेलमा स्टार क्रिकेट क्लबले लगातार दोस्रो जित निकालेको छ । दोस्रो जित निकाल्ने क्रममा स्टारले आइतबार बुटवल युथ क्रिकेट क्लबलाई १ सय ११ रनको फराकिलो अन्तरले पराजित गर्यो ।
सिद्धार्थ क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको स्टारले ४१ ओभर २ बलमा सबै विकेटको नोक्सानीमा २ सय २१ रनको बलियो योगफल खडा गर्यो । उसका लागि शुभम खनालले ६०, सिद्धार्थ ढकालले ५७, कृष्ण कुंवरले २१, रन्जित मौर्यले १६ र गणेश धितालले १५ रन बनाए । बलिङमा बुटवल युथका अजय चौधरीले ४, हिलसन क्षेत्री र सम्पन्न पाठकले २/२ तथा कृष्ण पटेल र अमृत भण्डारीले १/१ विकेट हात पारे ।
जवाफमा बुटवल युथले २७ ओभर ४ बलमा अलआउट हुँदै १ सय १० रन मात्रै बनायो र फराकिलो अन्तरले हार बेहोर्यो । उसलाई सस्तैमा रोक्न बलिङमा स्टारका फैजन खान र शुभम खनालले २/२ तथा गणेश धिताल, तुलबहादुर थापा, शुभम पाण्डे र सिद्धार्थ ढकालले १/१ विकेट लिए ।
बुटवल युथका कृष्ण पटेलले २०, सोनु मल्लाहले १७, सन्तोष परियारले १६, हिलसन क्षेत्रीले १२ र प्रदीप पेलाले १० रन बनाए । खेलमा शुभम खनाल प्लेयर अफ द म्याच भई एक हजार दुई सय रुपैयाँ प्राप्त गरे ।








प्रतिक्रिया