भैरहवा । भैरहवामा जारी २४ औं संस्करणको रुपन्देही सुपर लिग एक दिवसीय क्रिकेट प्रतियोगिताअन्तर्गत ‘बी’ डिभिजनको शुक्रबारको खेलमा स्टार क्रिकेट क्लब विजयी भएको छ । स्टारले बुटवल–११ क्रिकेट क्लबलाई ८५ रनले पराजित गर्दै जित निकालेको हो ।
भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको स्टारले ४५ ओभरमा सबै विकेट गुमाएर १ सय ७४ रन बनायो । उसका लागि कृष्ण कुँवरले ४४, फैजन खाँनले २३, सिद्धार्थ ढकालले १६, गणेश धितालले १४ र विन्दराम यादवले १० रन बनाए । बलिङमा बुटवल–११ का तौसिफ आलमले ५, आकाश अर्यालले २ तथा थानेश्वर भट्टराई र विभेष खातीले १/१ विकेट लिए ।
जवाफी ब्याटिङमा आएको बुटवल–११ ले ३४ ओभर २ बलमा सबै विकेट गुमाएर जम्मा ८९ रन मात्रै बनायो । उसलाई सस्तैमा रोक्न बलिङका स्टारका तुलबहादुर थापाले ३, गणेश धिताल र कृष्ण विकले २/२ तथा अनिश भट्टराई र इलजान खानले १/१ विकेट लिए ।
बुटवल–११ का रोजन रेग्मीले १४, रोहितकुमार पासवानले १३ र विभेष खातीले १० रन बनाए । खेलमा तुलबहादुर थापा प्लेयर अफ द म्याच भई एक हजार दुई सय रुपैयाँ प्राप्त गरे ।










प्रतिक्रिया