११ असार २०८३, बिहिबार

एक दिनमै दिन थालियो श्रम स्वीकृति

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । वैदेशिक रोजगार विभागले एक दिनमै श्रम स्वीकृति दिन थालेको छ ।

विभागले टोकन प्रणाली खारेज गर्दै एक दिनमै श्रम स्वीकृति दिन थालेको हो । महानिर्देशक मिरा आचार्य ले पत्रकार सम्मेलनमार्फत सरकार गठनपछि वैदेशिक रोजगारीलाई सुरक्षित र व्यवस्थित बनाउने लक्ष्यअनुसार काम भइरहेको जानकारी दिइन्।

उनका अनुसार इजाजतपत्र बिना वैदेशिक रोजगारसम्बन्धी गतिविधि गर्नेहरूमाथि कडा कारबाही हुने चेतावनी दिइएको छ। साथै, म्यानपावर कम्पनीहरूले श्रमिकलाई बुझ्न सहज होस् भनेर अन्तर्वार्ताका फाराम नेपाली वा द्विभाषिक बनाउन निर्देशनसमेत दिइएको छ।

विभागले वैदेशिक रोजगारीका नाममा हुने ठगी र अवैध गतिविधि नियन्त्रण गर्न विभिन्न सूचना जारी गर्दै आएको छ। अभिमुखीकरण तालिम शुल्क ७ सय रुपैयाँभन्दा बढी लिन नपाइने व्यवस्था कडाइका साथ लागू गरिने पनि जनाएको छ।

सेवामा पारदर्शिता ल्याउन कार्यालयभित्र सीसी क्यामेरा जडान गरिएको छ भने अनलाइन प्रणालीमार्फत मुद्दा व्यवस्थापन गर्ने तयारी भइरहेको हो। चालु आर्थिक वर्षमा विभागमा आएका सयौँ गुनासोमध्ये ठूलो संख्यामा समाधान गरी करोडौँ रुपैयाँ पीडितलाई फिर्ता गराइएको विभागको दाबी छ।

साथै, ठगीमा संलग्न केही म्यानपावर कम्पनीमाथि कारबाही गर्दै जरिवाना र क्षतिपूर्ति भराउने कार्य पनि अघि बढाइएको विभागले जनाएको छ।