काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक भोलि (बुधबार) पनि बस्ने भएको छ ।
पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काको आह्वानमा कांग्रेसको १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको बैठक आजबाट सुरु भएको हो ।
धुम्बाराहीको होटल स्मार्टमा बसेको बैठकमा २१ फागुनमा सम्पन्न निर्वाचन र पार्टीले प्राप्त गरेको मत परिणाम, १५ औं महाधिवेशन कार्यतालिका तथा महाधिवेशनको तयारी र सम्भावनाबारे छलफल भइरहेको छ ।

कांग्रेस नेता मानबहादुर नेपालीका अनुसार बैठकमा करिब ८३ जना केन्द्रीय नेताहरुको सहभागिता छ । उनले भने, ‘केन्द्रीय सदस्यज्यूहरु करिब ८३ जनाको उपस्थितिमा बस्यो र भोलि पनि बैठक निरन्तर जारी रहनेछ । बैठकमा १५ जना केन्द्रीय सदस्य साथीहरुले आफ्नो धारणा राख्नुभयो । विशेष महाधिवेशनको नाममा निर्वाचन आयोगले नेपाली कांग्रेसको सभापतिको वैधानिकता दिएको विषयलाई निर्वाचनपछि सर्वोच्च अदालतले फैसला नगरेसम्म पार्टीको आन्तरिक विषयलाई हामीले स्थगन राखेका थियौँ ।’
उनले पार्टीभित्र वार्ता, संवाद तथा सहमतिको कुनै प्रयासहरु नभएको बताए ।
बैठकमा नेता डा. शेखर कोइराला, पूर्वउपसभापतिहरू विमलेन्द्र निधि र प्रकाशमान सिंह, पूर्वमहामन्त्री डा. शशांक कोइराला लगायत नेताहरु सहभागी थिए ।








प्रतिक्रिया