काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को प्रथम उपाध्यक्षमा खगेन्द्र न्यौपाने निर्विरोध निर्वाचित भएका छन् । प्रवासमा रहेका लाखौं नेपालीको हक अधिकार, पहिचान र सम्मानका मुद्दालाई अन्तर्राष्ट्रिय मञ्चमा सशक्त रूपमा उठाउँदै आएका न्यौपानेले आफ्नो कार्यकाललाई अधिकारमुखी, परिणाममुखी र एकतामूलक बनाउने स्पष्ट प्रतिबद्धता जनाएका छन् ।
१२ औं विश्व महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन भइरहँदा न्यौपानेको विजयलाई प्रवासी नेपाली समुदायभित्र स्थिर, अनुभवी र समन्वयकारी नेतृत्वको रूपमा हेरिएको छ । सुरुमा अध्यक्षका प्रत्याशीका रुपमा हेरिए पनि पछि उनी प्रथम उपाध्यक्षमा सर्वसम्मतिमा बसेका थिए । मलेसियामा स्थापित व्यवसायी तथा दीर्घकालीन सामाजिक अभियन्ताका रूपमा परिचित उनी लामो समयदेखि प्रवासमा बसेर नेपाली समुदायका साझा मुद्दामा सक्रिय भूमिका खेल्दै आएका छन् ।
निर्वाचनपछि आफ्नो धारणा राख्दै न्यौपानेले एनआरएनएलाई केवल संगठनका रूपमा नभई विश्वभरका नेपालीलाई मातृभूमिसँग जोड्ने विश्वासिलो सेतुका रूपमा विकास गर्ने लक्ष्य रहेको बताए । ‘सुदृढ संगठन, दरिलो एकता : हाम्रो अभियान’ भन्ने मूल मन्त्रसहित उनले ‘एक मन, एक संगठन’को अवधारणालाई व्यवहारमा रूपान्तरण गर्ने प्रतिबद्धता व्यक्त गरे । उनका अनुसार प्रवासमा रहेका नेपाली श्रमिकहरूको सामाजिक सुरक्षा, श्रम अधिकार र सम्मानजनक कार्य वातावरण सुनिश्चित गर्नु अहिलेको सबैभन्दा महत्वपूर्ण आवश्यकता हो । यसका लागि सम्बन्धित देशका निकाय, दूतावास तथा सरोकारवाला संस्थासँग प्रभावकारी समन्वय गर्दै व्यवहारिक उपलब्धि हासिल गर्ने योजना उनले अघि सारेका छन् ।
त्यसैगरी, गैरआवासीय नेपाली नागरिकता र प्रवासी नेपालीको मताधिकारजस्ता संवेदनशील तथा दीर्घकालीन एजेन्डालाई प्राथमिकतामा राख्दै संविधानले सुनिश्चित गरेका अधिकारको कार्यान्वयनका लागि सरकारसँग सशक्त पहल गर्ने उनले स्पष्ट पारे । “अधिकार कागजमा सीमित नभई व्यवहारमा सुनिश्चित हुनुपर्छ,” उनले भने । संस्थाभित्र देखिएका मतभेद र विभाजन अन्त्य गर्दै साझा उद्देश्यका साथ संगठनलाई एकताबद्ध बनाउने लक्ष्यसमेत उनले राखेका छन् । प्रवासमा आर्जित सीप, पूँजी र अनुभवलाई नेपालमा रूपान्तरण गर्दै राष्ट्रिय विकासमा ठोस योगदान पुर्याउने दिशामा एनआरएनएलाई अघि बढाउने उनको रणनीति छ ।
न्यौपानेको नेतृत्वलाई प्रवासी नेपालीबीच अधिकारमुखी आवाज, समन्वयकारी क्षमता र व्यवहारिक दृष्टिकोणको संयोजनका रूपमा हेरिएको छ । उनले आफ्नो कार्यकालमा पारदर्शिता, उत्तरदायित्व र परिणाममुखी कार्यशैलीलाई केन्द्रमा राख्दै एनआरएनएलाई अझ विश्वासिलो र प्रभावकारी संस्थाका रूपमा स्थापित गर्ने अठोट व्यक्त गरेका छन् ।








प्रतिक्रिया