रामेछाप । गएराति रोशी खोलामा आएको बाढीका कारण बिपी राजमार्गअन्तर्गत निर्माण गरिएको अस्थायी डाइभर्सनमा ठूलो क्षति पुगेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ ।
बाढीका कारण काठमाडौंबाट बिपी राजमार्ग हुँदै पूर्वतर्फ आउनेजाने सवारी साधन पूर्ण रूपमा रोकिएका छन् ।
गत वर्ष आएको बाढीले राजमार्गमा ठूलो क्षति पुर्याएपछि हाल सडक पुनर्निर्माणको काम भइरहेको थियो । सोही क्रममा रोशी खोलामा विभिन्न स्थानमा अस्थायी ड्राइभर्सन बनाएर यातायात सञ्चालन गरिएको थियो । तर, गएराति आएको बाढीले ती डाइभर्सन बगाएपछि सडक अवरुद्ध भएको हो ।
नेपालथोकका स्थानीय राज मैनालीका अनुसार अचानक आएको बाढीले डाइभर्सन बगाउँदा सवारी आवागमन पूर्ण रूपमा ठप्प भएको छ । उनका अनुसार सडक सञ्चालन नहुँदा कतिपय सवारी बिच बाटोमै रोकिएका छन् ।
यसैबीच, रामेछाप निर्वाचन क्षेत्र ‘ख’को मुख्य प्रवेशद्वार मानिने नेपालथोक–खैरेनी घाट पुल जोड्ने रोशी खोलाको अस्थायी डाइभर्सन समेत बगाएको छ । उक्त मार्गमा क्षति पुगेपछि सो सडक पनि पूर्ण रूपमा अवरुद्ध भएको छ ।
बाढीका कारण यात्रु तथा सवारीसाधन अलपत्र परेका छन् भने स्थानीयबासीलाई आवतजावतमा ठूलो कठिनाइ भएको छ । सम्बन्धित निकायले क्षतिको मूल्याङ्कन गरी सडक सञ्चालनमा ल्याउने तयारी गरिरहेको जनाएको छ ।















प्रतिक्रिया