काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले जेनजी आन्दोलनको छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोग निष्पक्ष छानबिनका लागि नबनेको आयोगको प्रतिवेदनले नै पुष्टि गरेको बताएका छन् ।
महासचिव पोखरेलले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्– कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने धारणा आयोगको प्रतिवेदनले नै पुष्टि गरेको छ ।
कार्की आयोग र निर्वाचन अल्गोरिदममार्फत नेपाली समाजमा परेको प्रभावलाई राजनीतिक र कानूनी वैधानिकता दिने प्रयास थियो भन्ने कुरा स्पष्ट भएको उनको दाबी छ । सोही प्रयास अनुसारको निर्वाचनको परिणाम र आयोगको प्रतिवेदन आएको पोखरेलको भनाई छ ।
‘निर्वाचन र आयोगको प्रतिवेदनसँगै नेपाली राजनीति नयाँ मोडतर्फ अग्रसर छ ।’ महासचिव पोखरेलले लेखेका छन्, ‘अल्गोरिदमको प्रयोगबाट लोकप्रियतावाद, अराजकतावाद र अवसरवादको मिश्रणवाट नयाँ शक्तिको उदय भएको छ ।’
अबको बाटो सजिलो नहुने भन्दै उनले राष्ट्र र लोकतन्त्र दुवैले केही समय चुनौतीको सामना गर्नुपर्ने उल्लेख गरेका छन् ।
‘यस्तो अवस्थामा ‘नयाँ शक्ति’ र ‘नेतृत्व’लाई उनीहरूको दृष्टिकोणअनुसार काम गर्ने अवसर दिनु र जनतालाई प्रत्यक्ष अनुभवमार्फत मूल्याङ्कन गर्न दिनु नै सम्भवतः विवेकपूर्ण कदम हुन सक्छ ।’ महासचिव पोखरेलले भनेका छन्, ‘तर पनि सत्य कुरा के हो भने– लोकप्रियतावाद, अराजकतावाद र अवसरवाद आजका चुनौतीहरुको समाधानको बाटो होइन र विचारधारात्मक राजनीतिको दीर्घकालीन विकल्प पनि होइन ।’









प्रतिक्रिया