सुर्खेत । कर्णाली प्रदेश सरकारले रवीन्द्र चन्दलाई कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त गरेको छ । बिहीबार बिहान बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले उनलाई सदस्य सचिव पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।
प्रदेश सरकारले यसअघि, सदस्य–सचिव छनोट समितिले गत ३ माघमा अन्तर्वार्ता लिई तीन जनाको नाम सिफारिस गरेको थियो । सिफारिस गरिएका उम्मेदवारहरूमा रवीन्द्र चन्द, दीपक हमाल र प्रमोद हमाल थिए ।
छनोट समितिले गरेको मूल्यांकनमा रवीन्द्र चन्दले सर्वाधिक ६७.१७ अंक प्राप्त गरेका थिए भने दीपक हमालले ६०.६३ र प्रमोद हमालले ५२.३७ अंक प्राप्त गरेका थिए ।
सदस्य सचिव पदका लागि प्रारम्भमा २१ जनाले आवेदन दिएका थिए, जसबाट १० जनालाई अन्तर्वार्ताका लागि छनोट गरिएको थियो । अन्तर्वार्ता र मूल्यांकनका आधारमा उत्कृष्ट तीन जनाको नाम मन्त्रिपरिषद्मा सिफारिस गरिएको थियो, जसमध्येबाट चन्दलाई नियुक्त गरिएको हो ।
यस्तै, परिषद्को उपाध्यक्षमा प्रमोद हमाललाई नियुक्त गरिएको छ । हमाल यसअघि पनि परिषद्को उपाध्यक्ष थिए । मन्त्रिपरिषद् बैठकले परिषद्का सदस्यहरूमा पंखबहादुर मल्ल (कालीकोट), भीमकुमारी भुसाल (सुर्खेत), गोर्खबहादुर शाही (हुम्ला), पवनकुमार थापा (दैलेख) र किरणकिशोर सापकोटालाई मनोनयन गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता तथा भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाहले जानकारी दिए ।
कांग्रेस र एमालेबीचको भागवण्डाको गोलचक्करले झण्डै १५ महिना यता परिषद् नेतृत्वविहिन हुँदा आर्थिक तथा प्रशासनिक काममा गम्भीर असर पर्दै आएको छ । रिक्त परिषद्कै कारण एक अर्ब बढी खर्च गरेर बनाइएको कर्णाली प्रदेश रंगशाला अलपत्र बनेर बसेको छ । एक प्रतिशतमा रोकिएको रंगशाला निर्माणमा ठेकेदार कम्पनीले भुक्तानी नपाउँदा बाँकी पूरा हुन सकेको छैन । जसको असर १०औँ राष्ट्रिय खेलकुदमा परिरहेको छ ।
परिषद्ले पूर्णता पाएसँगै अब नियमित प्रशासनिक तथा आर्थिक क्रियाकलापहरू अघि बढ्ने छन् ।








प्रतिक्रिया