४ श्रावण २०८३, सोमबार

गगन पक्षविरूद्व उत्रियो देउवा पक्ष

4.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेसभित्र नेतृत्व र आधिकारिकतासम्बन्धी विवाद चुलिँदै जाँदा शेरबहादुर देउवा पक्षले नयाँ अडान सार्वजनिक गरेको छ। उक्त समूहले सर्वोच्च अदालतबाट अन्तिम निर्णय नआएसम्म नियमित महाधिवेशनमा सहभागी नहुने स्पष्ट पारेको हो।

देउवा निकट नेताहरूका अनुसार पार्टी नेतृत्वको वैधानिकताबारे मुद्दा अदालतमा विचाराधीन रहेकाले अहिले नै महाधिवेशनतर्फ अघि बढ्नु उपयुक्त नहुने धारणा राखिएको छ।

देउवा पक्षका नेता श्यामकुमार घिमिरेले आज पत्रकार सम्मेलन गरेर पार्टीको आधिकारिता सम्बन्धी सर्वोच्च अदालतमा विचाराधिन मुद्दाको फैसला नभई नियमित महाधिवेशनमा जाने पक्षमा आफूहरू नरहेको स्पष्ट पारेका छन्। उता, गगन थापा नेतृत्वले भने भदौ अन्तिमतिर महाधिवेशन गर्ने कार्यतालिका अघि सारेपछि विवाद थप चर्किएको छ।

देउवा पक्षले अदालतलाई चाँडो निर्णय दिन आग्रह गर्दै ढिलाइले न्याय प्रणालीप्रतिको विश्वास कमजोर हुने चेतावनी पनि दिएको छ। उनीहरूले अन्तिम फैसला जसको पक्षमा आए पनि स्वीकार गर्ने जनाउँदै त्यसपछि मात्रै महाधिवेशनमा जाने तयारी रहेको बताएका छन्।

पार्टीभित्र विशेष र नियमित महाधिवेशनबारे दुई धारबीच शक्ति संघर्ष चलिरहेका बेला हालैको निर्वाचनमा कमजोर प्रदर्शनपछि कांग्रेसमा आन्तरिक विवाद झनै बढेको देखिन्छ।