काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीले निर्वाचनमा गरेको प्रतिज्ञा अनुसार नै प्रतिपक्षको भूमिका जिम्मेवार ढंगले निर्वाह गर्ने बताएका छन् ।
मंगलबार केन्द्रीय कार्यसमितिको बैठकमा बोल्दै उनले मतदाताले सरकार सञ्चालन गर्न मत नदिएपनि प्रतिपक्षको जिम्मेवारी दिएको बताएका हुन् ।
उनले भने, ‘हामी नागरिकहरूको बीचमा पाँच वर्ष मतको सम्मान गर्ने प्रतिबद्धता लिएर गएका थियौं । त्यो मतले सरकार सञ्चालन गर्न नदिएपनि प्रतिपक्षको जिम्मेवारी दिएको छ, र हामी त्यस प्रतिज्ञामा बाधिएका छौं ।’
उनले सरकारमा हुँदा मात्र होइन, प्रतिपक्षमा हुँदा पनि प्रतिवद्धताबाट पछि हट्न नहुने स्पष्ट पारे । ‘हामी सरकारमा हुँदा मात्र प्रतिज्ञामा बाधिने र नहुँदा नबाधिने भन्ने हुँदैन,’ उनले भने ।
थापाले २०८२ देखि २०८७ सम्मको अवधिमा सुशासन, विकास र सेवा प्रवाहको गति विगतभन्दा चार गुणा बढाउनुपर्ने आवश्यकता औंल्याए ।
साथै, उनले देशमा कुनै पनि प्रकारको अस्थिरता वा ‘दुर्घटना’ हुन नदिन सबै राजनीतिक शक्तिहरू जिम्मेवार हुनुपर्ने बताए ।
‘०८२ देखि ८७ सम्मको पाँच वर्षको अवधिमा नेपालमा सुशासन, विकास, सेवा प्रवाहको गति पहिलाको भन्दा चार गुणा बढी हुनुपर्छ । सँगै गतिमा जानुपर्छ तर दुर्घटना हुनुहुँदैन’, उनले भने ।
राष्ट्रिय स्वतन्त्र पार्टीले सरकार सञ्चालनको जिम्मेवारी पाएको उल्लेख गर्दै उनले सरकारलाई पूर्ण साथ रहने तर आवश्यक ठाउँमा दबाब, प्रोत्साहन र प्रश्नसमेत गर्ने धारणा राखे ।
उनले भने, ‘राष्ट्रिय स्वतन्त्र पार्टीले पाँच वर्षको लागि ड्राइविङ सिटमा बस्ने जिम्मेवारी पाएको छ । देशमा सुशासनको सेवा प्रवाहको गतिमा लिएर जाने मुल जिम्मेवारी उहाँहरुले पाउनु भएको छ । यसमा नेपाली कांग्रेस पार्टीको पूर्णरुपमा साथ रहन्छ ।’
उनले देशलाई आगामी पाँच वर्ष कुनै पनि प्रकारको ‘दुर्घटना’, द्वन्द्व वा अतिवादमा पर्न नदिन नेपाली कांग्रेसको जिम्मेवारी भएको बताए ।
‘देशले पटक पटक दुर्घटना व्यहोरेको छ । हामी जहिले पनि बहुमत प्राप्त गर्छौ कहिलेकाही सजिलो हुन्छ भन्ठान्छौं तर दुर्घटनामा पर्छौ । तर अबको पाँच वर्ष देश कुनैपनि दुर्घटनामा पर्नु हुदैन । कुनैपनि द्धन्द्धमा पर्नुहुदैन । कुनैपनि अतिवादमा पर्नु हुँदैन । नेपाली काग्रेसको अर्को भूमिका यो हो,’ उनले भने ।








प्रतिक्रिया