२६ असार २०८३, शुक्रबार

लागूऔषधसहित विभिन्न स्थानबाट विदेशी नागरिकसहित ५ जना पक्राउ

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको टनेल गेटबाट लागूऔषध गाँजा जस्तो देखिने वस्तु करिब ३ किलो ४३५ ग्रामसहित थाइल्यान्डका नागरिक ३९ वर्षीय योङयुट थुइओनलाई गएराति प्रहरीले पक्राउ गरेको छ ।

थाइ एयरलाइन्सको उडानद्वारा बैंककबाट काठमाडौं आएका उनलाई खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनको साथबाट उक्त वस्तु फेला परेको हो । उनलाई थप आवश्यक अनुसन्धानको लागि लागूऔषध नियन्त्रण ब्युरो कोटेश्वर पठाइएको छ ।

झापा, मेचीनगर नगरपालिका–६ पुरानो मेची पुलबाट लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७३ ग्राम ७७० मिलिग्रामसहित अर्जुनधारा नगरपालिका–११ बसपार्क डेरा गरी बस्ने सर्लाही ईश्वरपुर नगरपालिका–४ सागरनाथ टोल घर भएका ३१ वर्षीय सनम बुर्जा मगरलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

यसैगरी, कैलाली टीकापुर नगरपालिका–९ बाट लागू औषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ४०० मिलिग्रामसहित २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा टीकापुर नगरपालिका–१ बस्ने ३० वर्षीय सागर रावल र १९ वर्षीय जीवन कुँवर रहेका छन् । इलाका प्रहरी कार्यालय टीकापुर र प्रहरी चौकी सत्तीबाट खटिएको प्रहरीले सु.प.प्र.०१.००८ प ८४७७ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

यस्तै, मोरङ सुन्दरहरैँचा नगरपालिका–५ बलियाबाट लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ १ ग्राम ४९ मिलिग्रामसहित सोही नगरपालिका–६ जब्दी बस्ने २४ वर्षीय विपिन दाहाललाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।