इटहरी । बैंकिङ क्षेत्रको विकास र विस्तारमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालालाई कोशी एक्सिलेन्स अवार्ड २०२६ को बैंकिङ विधातर्फको अवार्ड प्रदान गरिएको छ ।
नयन मिडिया फाउन्डेसन इटहरीले आयोजना गरेको ‘कोशी एक्सिलेन्स अवार्ड २०२६’ समारोहमा बैंकिङ विधातर्फको अवार्ड माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत कोइरालालाई प्रदान गरिएको हो ।
सुनसरीको इटहरीमा रहेको होटल सोल्टी वेस्टेन्डमा जारी कोशी एक्सिलेन्स अवार्ड समारोहमा कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोइरालालाई उक्त अवार्ड प्रदान गरेका हुन् ।
वि.सं. २०३० साल पुष २६ गते भोजपुर जिल्लाको भोजपुर नगरपालिका वडा नम्बर ४ मा बुबा खगेश्वर कोइराला र आमा शान्ता कोइरालाको कोखबाट जन्मिएका कोइराला नेपाली बैंकिङ क्षेत्रमा छुट्टै पहिचान स्थापित गर्न सफल व्यक्तित्वका रूपमा परिचित छन् । बाल्यकालदेखि नै अनुशासन, मेहनत र लगनशील स्वभावका कोइरालाले झापाको वीरेन्द्र माध्यमिक विद्यालयबाट वि.सं. २०४५ सालमा एसएलसी प्रथम श्रेणीमा उत्तीर्ण गरेका थिए ।
प्रारम्भमा इन्जिनियर बन्ने लक्ष्यसहित काठमाडौं पुगेका कोइरालाले प्रमाणपत्र तह विज्ञान विषयबाट उत्तिर्ण गरेर पुनः झापा फर्किएर मेची बहुमुखी क्याम्पसबाट व्यवस्थापन विषयमा स्नातक अध्ययन पूरा गरेका हुन् ।
पछिल्लो चरणमा उनले त्रिभुवन विश्वविद्यालयबाट एमबीए अध्ययन गरी बैंकिङ क्षेत्रमा आफ्नो करियरलाई थप मजबुत बनाएका छन् । वि.सं. २०५७ मा बैंक अफ काठमाडौंबाट जुनियर असिस्टेन्ट पदबाट बैंकिङ क्षेत्रको यात्रा सुरु गरेका कोइरालाको निरन्तर मेहनत र समर्पणले सानिमा विकास बैंकमा करिब साढे नौ वर्ष कार्य गर्दा म्यानेजरसम्मको जिम्मेवारी सम्हालेका थिए । त्यसपछि माछापुच्छ्रे बैंकमा सिनियर म्यानेजरका रूपमा आवद्ध भएका कोइराला क्रमशः पदोन्नति हुँदै अहिले प्रमुख कार्यकारी अधिकृत (सीईओ) बन्न सफल भएका छन् । हजारौं कर्मचारीमध्ये एक जनाले मात्र प्राप्त गर्ने यो अवसर उनले तल्लो तहबाट सुरु गरेको यात्रामार्फत हासिल गरेका हुन् ।
हाल उनी माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृतका साथै नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष तथा नेपाल वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका सञ्चालक समिति सदस्य लगायत विभिन्न जिम्मेवारीमा सक्रिय छन् । शैक्षिक र व्यावसायिक जीवनसँगै उनले खेलकुद तथा अन्य गतिविधिमा पनि उत्कृष्ट प्रदर्शन गर्दै विभिन्न पुरस्कार हासिल गरेका छन् । शिक्षक, होस्टेल वार्डेन र अडिट फर्ममा कार्यरत रहँदा समेत उनले कहिल्यै हार नमानी निरन्तर संघर्ष गर्दै अघि बढेका थिए ।
उनको सफलतामा जीवनसाथी निशा पोखरेलको साथ र परिवारको समर्थन महत्वपूर्ण रहेको उनी बताउँछन् । पराजयलाई स्वीकार गर्दै त्यसबाट सिक्ने र सकारात्मक सोचका साथ अघि बढ्ने हो भने सफलता अवश्य प्राप्त हुन्छ भन्ने विश्वासका साथ उनले आफ्नो जीवन यात्रा अघि बढाएका छन् ।
दीर्घकालीन अनुभव, नेतृत्वदायी भूमिका तथा बैंकिङ क्षेत्रको विकासमा पुर्याएको योगदानको कदरस्वरूप सन्तोष कोइरालालाई ‘कोशी एक्सिलेन्स अवार्ड २०२६’ अन्तर्गत बैंकिङ विधातर्फको अवार्ड प्रदान गरिएको आयोजकले जनाएको छ ।








प्रतिक्रिया