काठमाडौं । आज ६१ औं अन्तर्राष्ट्रिय जातीय तथा रंगभेद उन्मुलन दिवस नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।
दिवसका अवसरमा आज काठमाडौंमा राष्ट्रिय दलित आयोगसहित संघसंस्थाले विभिन्न कार्यक्रमको आयोजना गरेका छन् । नेपालमा यो वर्ष ‘दलित समुदायको न्यायमा पहुँचका लागि राज्य संरचनाको प्रभावकारी परिचालन’ भन्ने नारासहित यो दिवस मनाउन लागिएको राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले जानकारी दिए । उनका अनुसार आयोगले दलित गैरसरकारी संस्थासहित अन्य नागरिक संस्थाहरूसँगको सहकार्यमा आज बबरमहलदेखि बुद्ध नगरसम्म सचेतनामूलक र्याली निकालिनेछ भने बुद्ध नगरमा पुगेर सभामा परिणत हुनेछ । कार्यक्रममा बिहान ११ बजेबाट हुने आयोगले जनाएको छ ।
त्यस्तै, दिवसकै अवसरमा दलित मुक्ति आन्दोलनका क्रममा ज्यान गुमाएका सम्पूर्ण सहिद तथा योद्धाहरूको स्मरणमा साँझ ५ः३० बजे माइतीघर मण्डलामा दीप प्रज्वलन कार्यक्रम राखिएको छ । संयुक्त राजनीतिक दलित सङ्घर्ष समितिको अगुवाइमा उक्त कार्यक्रम राखिएको हो ।
सन् १९६० को दशकमा ल्याटिन अमेरिकी मुलुकमा गोरा शासकद्वारा लादिएको उपनिवेशवाद, जातिभेद तथा रङविरोधी संघर्षमा मारिएकाहरूको सम्झनामा मनाइन्छ । संयुक्त राष्ट्र सङ्घको महासभाले सन् १९६६ मा २१ मार्चलाई ‘अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवस’का रूपमा मनाउन अन्तर्राष्ट्रिय जगतलाई आह्वान गरेको थियो ।
नेपालमा सन् २००१ देखि यो दिवस मनाइँदै आएको छ । नेपालले सन् १९७१ मा यसलाई पक्ष राष्ट्रको रूपमा अनुमोदन गरेको थियो । २०६२/०६३ मा लोकतन्त्र बहाली भएपछि २०६३ साल जेठ २१ मा पुनस्र्थापित प्रतिनिधिसभाको बैठकले नेपाललाई छुवाछुत मुक्त राष्ट्र घोषणा गर्यो । त्यसको पाँच वर्षपछि २०६८ जेठ १० गते ‘जातीय भेदभाव तथा छुवाछुत (कसुर र सजाय) ऐन, २०६८’ संसदबाट पारित भएको थियो ।
जातीय विभेद गर्नु कानुनतः दण्डनीय भए पनि व्यावहारिक रूपमा कानुन कार्यान्वयन फितलो हुँदा दलित समुदायले विभेद खेपिरहेका छन् ।








प्रतिक्रिया