३ श्रावण २०८३, आइतबार

पुलिस लगातार दोस्रो पटक जय ट्रफीको च्याम्पियन

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । घरेलु क्रिकेटमा दुई विभागीय टोलीबीच फेरि नेपाल पुलिस क्लब अब्बल सावित भएको छ। पुलिसले लगातार दोस्रो वर्ष जय ट्रफी मेन्स एलिट कप क्रिकेटको उपाधि जितेको छ ।

मुलपानी मैदानमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई आज ४ विकेटले हराउँदै पुलिस च्याम्पियन बनेको हो । गत वर्ष पनि पुलिस र आर्मीबीच नै फाइनल भएको थियो ।

तीन दिवसीय क्रिकेटको दोस्रो इनिङमा २ सय २७ रनको लक्ष्य पाएको पुलिसले ६ विकेट गुमाएर पूरा ग¥यो । पुलिसका लागि राशिद खान र कुशल भुर्तेलले अर्धशतकीय इनिङ खेले ।

सर्वाधिक रन बनाउने क्रममाले १ सय २८ बलमा ८ चौका र ३ छक्कासहित ८१ रन बनाए । फाइनलमा बनेको यो सर्वाधिक व्यक्तिगत स्कोर हो ।

कुशलले ६४ बलमा ५ चौकासहित ५१ रन बनाए । दिलशाद अलीले नटआउट ३१, ओपनर दिनेश खरेलले २५ , कप्तान आरिफ शेख १४ र शंकर रानाले नटआउट १३ रन जोडे ।

आर्मीका लागि पवन कार्की र शाहब आलमले समान २, आकाश चन्द र भीम सार्कीले समान १ विकेट लिए । ९ विकेटको क्षतिमा १ सय ७८ रनबाट आजको खेल अघि बढाएको आर्मी दोस्रो इनिङमा २ सय २६ रनमा अलआउट भएपछि पुलिसले २ सय २७ रनको लक्ष्य पाएको थियो ।

दोस्रो इनिङमा आर्मीका आकाश चन्दले सर्वाधिक ३७, कुशल मल्लले ३६, शाहब आलमले ३३ र भीमले ३२ , सोमपाल कामीले २३, ओपनर तृतराज दासले २०, इमरान शेखले १६, कप्तान विनोद भण्डारीले १२ रन बनाए ।

पुलिसका सागर ढकालले ४, करण केसी र ललित राजवंशीले समान ३ विकेट लिए । पहिलो इनिङमा दुवै टोलीले समान २ सय २१ रन बनाएका थिए। पुलिसका लागि करणले पहिलो इनिङमा नटआउट ७२ रन बनाएका थिए। पुलिसका रशिद खान प्लेयर अफ दि म्याच घोषित भए ।

४ टोलीको सहभागिता रहेको जय ट्रफीको लिग चरण दुईदिने र फाइनल तीनदिने ढाँचामा खेलिएको थियो। एपिएफ क्लब र बागमती प्रदेश पनि जय ट्रफीमा सहभागी थिए ।

पुलिसका ललितनारायण राजवंशी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी चुनिएका छन् । ललित नै उत्कृष्ट बलर र बागमतीका इशान पाण्डे उत्कृष्ट ब्याटर घोषित भए ।