काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा गत पुस ३० गतेदेखि सञ्चालनमा आएको राष्ट्रिय लिग स्थगित भएको छ ।
बिहीबार एन्फाले विज्ञप्ति जारी गर्दै अर्को सूचना जारी नभएसम्मका लागि लिग स्थगित गरेको जनाएको हो । एन्फाका प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधरले जारी गरेको विज्ञप्तिमा प्राविधिक कारणले लिग स्थगित गरेको खुलाइएको छ ।
एन्फाले म्याच नं ९७ र १०० देखि १३६का खेलहरू स्थगित गरेको हो । बिहीबार गृह मन्त्रालयमातहत रहेको अध्यागमन विभागले एन्फालाई पर्यटकीय भिसामा रहेका विदेशीलाई नेपालमा हुने फुटबल खेलमा सहभागी नगराउन निर्देशन दिएको छ ।
“संघबाट सञ्चालन भएको राष्ट्रिय महिला/पुरुष लिग फुटबल खेलमा सहभागी भएका फुटबल क्लबहरूले पर्यटक भिसा लिएका विभिन्न मुलुकका विदेशी खेलाडीहरूलाई समेत समावेश गरेको भन्ने व्यहोराको उजुरी यस विभागमा प्राप्त हुन आएको छ,” अध्यागमनले पत्रमा भनेको छ, “तसर्थ, कुनै पनि खेलमा विदेशी खेलाडीहरूलाई समावेश गराउनुपर्ने भएमा नियमानुसार कार्यसहमति र श्रम स्वीकृति लिएर मात्र सहभागी गराउनुहुन अनुरोध छ ।“
विभागले यस सम्बन्धमा अनुगमन प्रारम्भ भएकोले स्वीकृति नलिएका विदेशी खेलाडीहरू भिसाको उदेश्यविपरीत कुनै पनि खेलमा सहभागी भएको पाइएका तत्काल कारबाही अगाडि बढाउने चेतावनी समेत दिएको थियो ।









प्रतिक्रिया