काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना नवनिर्वाचित सांसदहरूका लागि आयोजना गरेको अभिमुखीकरण कार्यक्रम खर्चका कारण चर्चामा आएको छ। सुशासन र पारदर्शिताको नारा दिँदै आएको पार्टीले पाँचतारे होटलमा कार्यक्रम गरेपछि विभिन्न तहमा प्रश्न उठ्न थालेका छन्।
दुई दिने आवासीय कार्यक्रममा प्रशिक्षण, बसोबास, खानपानलगायतका व्यवस्थामा उल्लेख्य खर्च भएको बताइएको छ। ठूलो संख्यामा कोठा बुक गरिनुका साथै अन्य सुविधा पनि समावेश गरिएको थियो।
यस विषयलाई लिएर सामाजिक सञ्जालमा आलोचना भइरहेको छ। कतिपयले पार्टीको घोषित नीति र व्यवहारबीच अन्तर देखिएको टिप्पणी गरेका छन् भने केहीले यस्ता कार्यक्रमलाई आवश्यक तयारीको रूपमा पनि व्याख्या गरेका छन्।
यसैबीच, कार्यक्रमको आवश्यकता र खर्चको औचित्यमाथि बहस पनि सुरु भएको छ। केहीले जनताको अपेक्षा विपरीत खर्च भएको बताएका छन् भने अन्यले सांसदहरूलाई सक्षम बनाउन यस्तो तालिम आवश्यक हुने तर्क गरेका छन्। आगामी दिनमा यस्ता गतिविधिले पार्टीको छवि कस्तो बनाउँछ भन्ने चासो समेत बढ्दै गएको छ। रास्वपाले आवासको लागि मात्रै १५ लाख ६० हजार खर्च गरेको देखिन्छ । त्यसबाहेक भोजनको छुट्टै शुल्क छँदैछ ।
दिल निशानी मगरले फेसबुकमा लेखेका छन्, ‘किसान, बेरोजगार र सुकुम्बासीहरूले भोट हालेर जिताएका गरिब देशका सांसदहरू यतिबेला फाइभ स्टार होटलमा रमिता देखाइरहेका छन्, मुखमा माड छैन,…नौनी घ्यू !’
त्यस्तै, पूर्वसांसद छिरिङ ल्हामु लामाले पनि यहि कुरालाई लिएर सुशासनप्रति रास्वपाको प्रतिवद्धतामाथि प्रश्न उठाएकी छन् । ‘ओहो हाम्रो पालामा त यस्तो केही पनि गराएको थिएन त, ल है अबचाहिं अवश्य देशमा केही होला जस्तो मलाई पनिु, कटाक्ष गर्दै उनले फेसबुकमा लेखेकी छन्, ‘सबै कुरा नयाँ हुन थालेछ । हाम्रो पालामा त अभिमुखीकरण कार्यक्रम संसद भवनकै हलमा भएको थियो, पार्टीको पनि दल कार्यालयमै भएको थियो,’ ।
स्मरण रहोस्, उक्त होटलका मालिक विवादित व्यवसायी हुन् । गत मंसिर दोस्रो साता उनी बैंकिङ कसूरमा पक्राउ परेका थिए ।
प्रभु बैंकबाट विभिन्न कम्पनीको नाममा कर्जा लिएर दुरुपयोग गरेको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले नियन्त्रणमा लिएको हो । शाक्यविरुद्धको मुद्दा अहिले पनि सर्वोच्चमा विचाराधीन छ ।








प्रतिक्रिया