३१ असार २०८३, बुधबार

‘बालेन लहर’ जस्तै ‘राजीव लहर’ क्षणिक थियो : शंकर पोखरेल

602
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले २१ फागुनको प्रतिनिधिसभा सदस्य निर्वाचनको ‘बालेन लहर’लाई सन् १९८४ को भारतको ‘राजीव लहर’सँग तुलना गर्दै चुनावी लहर स्थायी नहुने बताएका छन् ।

फेसबुकमा लेख्दै महासचिव पोखरेलले सन् १९८४ मा भारतमा राजीव गान्धीको नेतृत्वमा कांग्रेस (आई)ले भारतीय लोकसभामा दुई तिहाइभन्दा बढी सिट जितेको स्मरण गराएका हुन् । त्यतिबेला हालको सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) भने केवल २ सिटमा सीमित भएको पोखरेलले उल्लेख गरेका छन् ।

तर, त्यसपछि कांग्रेस कमजोर बन्दै गएको र भाजपा विस्तारै सशक्त हुँदै अघि बढेको उल्लेख गर्दै पोखरेलले अहिले नरेन्द्र मोदीको नेतृत्वमा भाजपा लगातार तेस्रो कार्यकालसम्म सत्तामा रहेको उदाहरण दिए ।

पोखरेलले यस घटनाक्रमले चुनावी लहर वा एकपटकको ठूलो जितले मात्रै दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित नगर्ने स्पष्ट पारे । उनले जनअपेक्षा पूरा गर्ने क्षमता, संगठन सुदृढीकरण तथा निरन्तर जनसमर्थन कायम राख्ने रणनीति नै दीर्घकालीन सफलताको आधार हुने बताएका छन् ।

‘यस घटनाक्रमले एउटा महत्वपूर्ण शिक्षा दिन्छ– चुनावी लहर वा एकपटकको ठूलो जितले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्दैन । जनअपेक्षा पूरा गर्ने क्षमता, संगठनको सुदृढीकरण, र निरन्तर जनसमर्थन कायम राख्ने रणनीति नै दीर्घकालीन सफलताको आधार हुन् । जित्ने र हार्ने दुबैका लागि यी शिक्षाका विषय हुन् ।’ महासचिव पोखरेलले लेखेका छन् ।