काठमाडौं । १९ वर्ष अघि २०६४ साल वैशाख ७ गते ४३ जना कर्मचारीबाट विधिवत बैंकिङ सेवा सुरु गरेको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले बैंकमा अनवरत १० वर्ष र १५ वर्ष सेवा प्रवाह गरेका कर्मचारीहरुलाई दीर्घ सेवा सम्मान गरेको छ । आजको दिन (चैत १) गते बैंकले कर्मचारीको दिन (कर्मचारी दिवस)को रुपमा मनाउँदै आएको छ ।
बैंकले १९ औं वर्ष पूरा गरी २० औं वर्षमा प्रवेश गर्न लागेको सुखद् उपलक्ष्यमा एक महिने वार्षिक उत्सवसम्बन्धी कार्यक्रमहरु आयोजना गरिरहेको छ । वैशाख ७ गते बैंकको वार्षिकोत्सवको दिन हो ।
बैंकको केन्द्रीय कार्यालय नारायणहिटी पथमा आयोजित एक कार्यक्रमका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले बैंकमा अविरल १० वर्ष सेवा प्रवाह गरेका ४८ जना र १५ वर्ष सेवा प्रवाह गरेका १४ जना गरी जम्मा ६२ जना कर्मचारीलाई प्रमाणपत्रसहित ‘दीर्घ सेवा सम्मान’ पदक प्रदान गरेका हुन् ।
बैंकमा हाल १७ सय ६४ कर्मचारीहरु कार्यरत रहेका छन् ।
समारोहलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत पोखरेलले कर्मचारीहरूलाई आफ्नो तर्फबाट शत प्रतिशत योगदान गरी बैंकलाई नयाँ उचाईमा पुर्याउन आग्रह गर्दै कर्मचारीलाई जिम्मेवार, लगनशील र प्रतिबद्ध भई आफ्नो काम तथा कर्तव्य पूरा गर्न आग्रह गरे ।
हालसम्म ३५६ जना कर्मचारीहरु (१० वर्ष कर्मचारी सम्मान पदक २९० जनाले र १५ वर्ष कर्मचारी सम्मान पदक ६६ जना)ले सम्मान पदक प्राप्त गरेका छन् ।








प्रतिक्रिया