काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसिसी) को आगामी कार्यकाल २०२५–२०२७ का लागि क्षेत्रीय संयोजक (आरसी–एशिया) पदमा मलेसियामा सक्रिय अभियन्ता नारायण अधिकारीले उम्मेदवारी दर्ता गराएका छन् ।
एनआरएनएको आगामी विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन हुने तयारी भइरहेका बेला अधिकारीले एशिया क्षेत्रको संयोजक पदका लागि आफ्नो उम्मेदवारी औपचारिकरूपमा दर्ता गराएको जानकारी दिएका हुन् ।
लामो समयदेखि मलेसियामा बस्दै आएका अधिकारी प्रवासी नेपाली समुदायका सामाजिक तथा संस्थागत गतिविधिमा सक्रिय रूपमा संलग्न रहँदै आएका अभियन्ता हुन् । उनले एनआरएनए मलेसियामा सदस्य, सचिव तथा उपाध्यक्षजस्ता महत्वपूर्ण जिम्मेवारी सम्हालिसकेका छन् । संगठनभित्रको अनुभवसँगै उनले आफ्नै सामाजिक संस्था स्थापना गरेर विभिन्न सामाजिक तथा मानवीय कार्यहरू पनि सञ्चालन गर्दै आएका छन् । एशिया क्षेत्रमा रहेका लाखौँ नेपाली कामदारको हक–हित संरक्षण, विभिन्न देशमा रहेका नेपाली संघ–संस्थाबीच समन्वय तथा सहकार्यलाई मजबुत बनाउने लक्ष्यसहित आफू उम्मेदवारीमा उत्रिएको अधिकारीले बताएका छन् ।
उनका अनुसार एशियामा रहेका प्रवासी नेपाली विशेषगरी श्रमिक समुदायले भोगिरहेका समस्या समाधान गर्न संस्थागत पहल आवश्यक रहेको छ । श्रमिकको अधिकार संरक्षण, आपतकालीन अवस्थामा सहयोग प्रणाली सुदृढ बनाउने, तथा विभिन्न देशमा रहेका एनआरएनए राष्ट्रिय समन्वय परिषद् (एनसीसी) बीच सहकार्य बढाउने विषयलाई उनले आफ्नो प्राथमिकतामा राखेका छन् । अधिकारीले एशिया क्षेत्रका विभिन्न देशहरूमा रहेका गैरआवासीय नेपालीहरूबीच एकता, सहकार्य र समन्वयलाई थप मजबुत बनाउँदै एनआरएनए अभियानलाई प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् । अधिकारीले एसिया प्यासिफिक क्षेत्रलाई लक्षित गर्दै राहत कोष सञ्चालन गर्ने आफ्नो मुख्य एजेन्डा रहेको बताए । ‘एसिया प्यासिफिक क्षेत्रमा रहेका नेपाली समस्यामा परेमा सहयोगका लागि एसिया प्यासिफिक क्षेत्रलाई लक्षित गर्दै बृहद राहत कोष स्थापना गर्न आवश्यक छ र म यसमा लाग्नेछु,’ अधिकारीले भने ।
एनआरएनएभित्र लामो समयदेखि काम गरेको अनुभव र सामाजिक क्षेत्रमा निरन्तर सक्रियताका आधारमा आफ्नो उम्मेदवारी एशिया क्षेत्रका अभियन्ताले सकारात्मक रूपमा लिने विश्वास उनले व्यक्त गरेका छन् । निष्ठा, पारदर्शिता र जिम्मेवारीका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै अधिकारीले विश्वभर रहेका एनआरएन अभियन्ता, अग्रज, सहकर्मी तथा शुभेच्छुकहरूसँग साथ, सहयोग र समर्थनको हार्दिक अपिल गरेका छन् ।








प्रतिक्रिया